बजेट कार्यान्वयनको अनुगमन गर्न आग्रह

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सांसदहरूलाई बजेट कार्यान्वयनको अनुगमन गर्न आग्रह गरेका छन् । शुक्रवार कर्णाली प्रदेशसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो आग्रह गरेका हुन् ।

मन्त्री रावलले सामाजिक विकास मन्त्रालयले चालु खर्च र पूँजीगत खर्चलाई बराबर गतिमा लगेकोभन्दै कार्यशैलीमा अझै सुधार गर्नको लागि अनुगमन आवश्यक भएको बताए । ‘तपार्इंहरू अझै चयालमान भइदिनुुस्’ उनले भने ‘आफ्नो निर्वाचन क्षेत्रको बजेट कार्यान्वयनको अनुगमन गर्नुभयो भने राम्रो हुन्छ ।’ मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा चालुतर्फ २४ प्रतिशत र पूँजीगततर्फ १५ प्रतिशत बजेट कार्यान्वयन गर्न सफल भएको उनले बताए ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशमा राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक २०७६ लाई सैद्धान्तिक छलफलको लागि सभामा प्रस्ताव गरेका थिए । छलफलमा भाग लिँदै सांसद सीताकुमारी नेपालीले विधेयकमा जडिबुटी सम्बन्धी व्यवस्था हुनुपर्ने बताइन् । त्यस्तै सांसद विन्दमान विष्टले विधेयकमा अलि बढी छलफल गर्नुपर्ने बताए । कर्णालीमा जडिबुटीको क्षेत्र धेरै भएकोले जडिबुटी विकास तथा अनुसन्धान केन्द्रको परिकल्पना गरेपनि प्रशोधन केन्द्रको परिकल्पना गर्नुपर्ने बताए । सांसद कौशिलावती खत्री, मीनासिं रखाल, सोशिला शाही लगायतले भाग लिएका थिए । आगामी बैठक फागुन २७ गते दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको छ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७६, शनिबार ०५:०३