कोरोनाको त्रास हटाउन आह्वान

सुर्खेत : कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाउने काम भइरहेको भन्दै स्थानीय प्रशासनले यस्तो कार्य रोक्न आह्वान गरेको छ । नेपालमा कोरोना भाइरस नआए पनि सामान्य ज्वरो, रुघाखोकीका आधारमा कोरोनाको त्रास देखाउने काम भएकोले त्यस्ता गतिविधिहरू नगर्न आह्वान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यहाँका औषधि व्यवसायीहरूसँग गरेको छलफलमा कोरोनाको डर त्रास देखाउने काम बढी भइरहेको भन्दै त्रास देखाउने काम नगर्न आह्वान गरिएको हो । कोरोनालाई देखाएर मास्क तथा औषधिहरू लुकाइ कालोबजारी नगर्न, रुघाखोकीका बिरामीहरूलाई कोरोना हो भन्ने सुझाव नदिन आग्रह गरिएको छ । १०४ डिग्रीभन्दा माथि ज्वरो आएमा सो बिरामी १४ दिन अगाडिदेखि कहाँबाट आएका हुन् भनेर सोध्न जनस्वास्थ्य प्रशासक चेतननिधि वाग्लले सुझाव दिए । उनले मेडिकलमा आउने बिरामीमाथि कोरोनाको शंका देखिएमा तत्काल प्रदेश अस्पताललाई खबर गरिदिन अनुरोध गरे ।

मौसम फेरबदल भएकोले सामान्य रुघाखोकी, ज्वरो आउन नै कोरोनाको लक्षण होइन । यद्यपि १०४ डिग्रीमाथि ज्वरो आएमा बिरामीलाई दुई हप्ता अगाडिदेखिको पृष्ठभूमि सोध्न उनले सुझाव दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले मास्क, औषधिमा कालोबजारी नगर्न सुझाव दिए । उनले जटिल परिस्थितिको सामना सबैले गर्नुपरेको हुँदा व्यावसायिक मर्यादामा बसेर व्यवसाय गर्न औषधि व्यवसायीहरूलाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले कोरोनाको त्रास फैलाइएकोले चुनौती बढेको बताए । उनले सबै रोगबाट सतर्क रहन आग्रह गर्दै जिल्लाभित्रका सरोकारवाला सबैलाई सतर्क रहन निर्देशनसमेत दिइ सकिएको जनाए । उनले कोरोनाबाट डराउनुपर्ने अवस्था नभए पछि सजग हुनुपर्ने बेला भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले सामान्य रुघाखोकी लागेकालाई पनि कोरोनाको आशंका गरेर त्रास फैलाउने काम गरिएको जनाए । उनले यस्ता त्रास फैलाउने काम नगर्न सबैलाई आग्रह गरे । यता औषधि व्यवसायीहरूले पनि कोरोनालाई त्रासको रूपमा फैलाइएको बताएका छन् । औषधि व्यवसायी विष्णुबहादुर खड्काले मास्कहरू सुर्खेतका कुनै पनि औषधि पसलहरूमा पर्याप्त मात्रामा नभएको जनाए । उनले सिटामोल लगायतको औषधि तत्काललाई उपलब्ध भए पनि मास्क भने नभएको उल्लेख गरे । अर्का व्यवसायी प्रेम भण्डारीले अहिले रुघाखोकी र ज्वरोका बिरामीहरूको संख्या बढेपनि कोरोना नै नभएको भन्दै शंका लागेमा प्रदेश अस्पतालमा खबर गर्ने जानकारी दिए ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७६, शनिबार ०५:०२