न्यायको लडाइँले दिलाएको खुशी

सीता वली, 
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतकी लक्ष्मी पुरीलाई बोक्सीको आरोपमा श्रीमान्ले घरबाट निकाला गरे । त्यतिमात्रै होइन उनका शरीरका कुनै अङ्ग खाली नरहनेगरी उनले कुटाइ खाइन् । घरबाट निकालिएकी लक्ष्मीले अहिले कानुनी बाटो अपनाइ न्याय प्राप्त गरेकी छन् । लालपूर्जा देखाउँदै उनले भनिन् ‘मैले न्याय पाएकी छु ।’ न्याय पाउँदा संसार जितेजस्तै अनुभूति भएको उनले बताइन् । ७० वर्षीया उनले जीवनभरी हिंसा भोग्नुपरे पनि बुढेसकालमा न्याय पाउँदा खुशी लागेको बताइन् ।

वीरेन्द्रनगर–१२ सुर्खेतकी सेरिना (नाम परिवर्तन) ले १५ वर्षको उमेरमा सशस्त्र प्रहरी जवानसँग विवाह गरिन् । दाङ घर भएकी उनले अन्तरजातीय विवाह गरेको र दाइजो नल्याएकै कारण हिंसा खेप्नुप¥र्यो । सासु–ससुरा, जेठाजु, श्रीमान् सबैले उनलाई दाइजो नल्याउने मगरको छोरी भन्दै दिनहुँ कुट्थे । एउटा छोराकी आमा उनलाई गाली गलौच र शारीरिक पीडा मात्रै होइन ज्यान मार्ने प्रयास समेत गरे । विवाहको १४ वर्षसम्म श्रीमान् र परिवारको हिंसा सहेकी सेरिनालाई केही महिना अगाडि उनका श्रीमान्ले ज्यान मार्ने उद्देश्यले गोबरग्यासको खाल्डोमा हालेपछि उनी भागेर नवज्योति केन्द्र सुर्खेतको शरणमा पुगिन् । अहिले उनको परिवारसँग मेलमिलाप भएको छ । ‘दुईपटकसम्म आत्महत्या गर्नको लागि जंगल गएकी थिएँ’ उनले भनिन् ‘अहिले पहिलेको भन्दा घरमा सहज वातावरण भएको छ ।’ मानसिक हिंसा भए पनि शारीरिक रूपमा भने कसैले पनि कुटपिट गर्न नसकेको उनले बताइन् । ‘हिंसा सहेर बस्नु आफैले आफैलाई हिंसा गर्नु हो’ उनले थपिन् ‘मेरो विवाहको १४ वर्षसम्म मैले हरेक दिन हिंसा सहें । आज कानुनको साहारामा हिंसामुक्त भएकी छु  ।’

उनीजस्तै वर्षौं श्रीमान् र परिवारको हिंसा सहेकी पञ्चपुरी नगरपालिकीकी आशा (नाम परिवर्तन) ले समेत न्याय पाएको महशुस गरेकी छन् । तीन सन्तानकी आमा उनलाई न्याय दिने सरकारी निकायसँग भने गुनासो छ । ‘निजी संस्थाको पहलमा हिंसा पीडितले न्याय पाएका छन्’ उनले भनिन् ‘तर सरकारले हिंसा पीडितको लागि केही काम गरेको छैन ।’ उनले हिंसापीडित महिलाका बालबालिकाहरूलाई सरकारले शिक्षाको राम्रो प्रबन्ध गरिदिनुपर्ने बताइन् ।

सिम्ता गाउँपालिका सुर्खेतकी कल्पना (नाम परिवर्तन) ले समेत शारीरिक तथा मानसिक दुवै हिंसाको सामना गर्नुप¥र्यो । भारतीय सेना उनका श्रीमान्ले दोस्रो विवाह गरेपछि उनले कानुनी बाटो अपनाइन् । अन्ततः श्रीमान् र उनका परिवारलाई समेत सजाय दिन सफल भइन् । ‘आज मलाई धेरै खुशी लागेको छ’ उनले खुशी हुँदै भनिन् ‘तर कानुन पैसासँग साटिनु हुँदैन ।’ न्याय पाउन मुस्किल अवस्थामा समेत न्याय पाए पनि कर्णाली प्रदेश सरकारले हिंसा पीडितको लागि केही गर्न नसकेको उनले गुनासो गरिन् ।

शुक्रवार नवज्योति केन्द्र सुर्खेतले आयोजना गरेको हिंसा प्रभावितहरूसँग अन्तरक्रिया कार्यक्रममा पीडित महिलाहरूले न्याय पाउँदाको खुशी साटे । सँग–सँगै उनीहरूले विगतलाई समेत कोट्याउन भ्याए । एक सय १०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी आयोजना गरिएको कार्यक्रममा हिंसापीडित महिलाहरूले कर्णाली प्रदेश सरकारले वास्तविक पीडितको पक्षमा न्याय दिने वातावरणको सिर्जना गर्नुपर्ने समेत बताए । उनीहरूले पीडितहरूले न्याय पाउँदासम्मको लागि गास र बासको व्यवस्था सरकारले गरिदिनुपर्ने धारणा समेत राखेका थिए ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशकी उप–सभामुख पुष्पा घर्तीमगरले राज्यका हरेक निकायमा महिलाको सहभागिता सुनिश्चितता हुनुपर्ने बताइन् । महिलाहरूले हरेक तहमा हिंसा भोग्नुपरेको भन्दै उप–सभामुख घर्तीले कर्णालीमा त्यसको अन्त्यको लागि पहल गरिने बताइन् । नीतिनिर्माण गर्ने थलोमा महिलाहरूको सहभागिता कम भए पनि महिलाहरूले सहज न्याय पाउन नसकेको उनले बताइन् ।

अधिवक्ता गीता कोइरालाले अझै पनि महिलाहरूले हिंसाबाट उन्मुक्ति नपाएको बताइन् । ‘पहिलेको तुलनामा हिंसाका रूप फेरिएका छन्’ उनले भनिन् ‘अझै पनि पूर्णरूपमा महिलाहरू हिंसाबाट उत्मुक्ति पाएका छैनन् ।’ नवज्योति केन्द्रकी निर्देशक रोसिटाले हिंसा प्रभावित महिलाहरूलाई आफूहरूले न्याय दिलाउन पहल गर्नुका साथै आर्थिक उपार्जनसँग जोडेको बताइन् ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७६, शनिबार ०५:०१