विद्यार्थीलाई आत्मसुरक्षा तालिम
सुर्खेत : विद्यालयमा अध्ययनरत किशोरीहरूलाई आत्मसुरक्षा तालिम दिन थालिएको छ । ‘महिला शक्ति राष्ट्रको विकास’ भन्ने मूल नारा लिएर अघि बढेको सुर्खेत महिला जेसीज वर्ष–२०२० ले आफ्नो वार्षिक अभियान अन्तर्गत महिलाहरूका लागि आत्मसुरक्षा तालिमको सुरुवात गरेको हो ।
तालिमको शुभारम्भ गर्दै सुर्खेत महिला जेसीज वर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले महिलामाथि हुने हिंसालाई रोक्न तालिम प्रदान गरिएको बताइन् । उनले महिलाहरू आफैले आफ्नो सुरक्षा गर्न सकुन भनेर विशेष गरेर विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि आत्मसुरक्षा तालिमको सुरुवात गरिएको जानकारी दिइन् । ‘हामीले यो कार्यक्रमको सुरुवात वीरेन्द्रनगर–१० घुस्रास्थित जनसेवा माध्यमिक विद्यालयबाट गरेका छौं’ उनले भनिन्, ‘यो अभियान हामी विभिन्न विद्यालयमा सञ्चालन गर्ने तयारीमा छौं ।’
बिहीवार जनसेवा मावि घुस्राका करिब ९० छात्रा विद्यार्थीहरूलाई कराँते ब्ल्याक बेल्ट उपाधी प्राप्त खेलाडी पशुपति बिसीले तालिम दिएकी थिइन् । उक्त कार्यक्रमको संयोजन जेसीजका कार्यकारिणी उपाध्यक्ष लक्ष्मी गुरुङ्गले गरेकी हुन् ।
प्रकाशित मितिः २३ फाल्गुन २०७६, शुक्रबार ०८:४८
साझा बिसौनी ।