कोरोनाविरुद्ध कर्णालीमा उच्च सतर्कता


सुर्खेत : कोरोना भाइरस भित्रिन नदिन कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ । कोरोना भित्रिन नदिने र भित्रिएपछि पनि उपचारको लागि सतर्कता अपनाइएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

प्रदेशले सबैभन्दा पहिले उत्तरतर्फको छिमेकी मुलुक चीन र अन्य छिमेकी प्रदेशसँगको नाकामा विशेष जाँच गर्ने भएको छ । प्रदेशका मुख्य चारवटा नाकामा औषधिसहितको स्वास्थयकर्मीको टोलीलाई खटाइने मन्त्री रावलले बताए । ‘हुम्ला जिल्लाको हिल्सा नाकामा चिकित्सकसहितको टोली गइसक्यो’ उनले भने ‘अन्य तीनवटा नाकामा भने भोलि र पर्सीमा पठाउने तयारी भएको छ ।’ उनले सल्यानको कपुरकोट, भेरीबबई र सुर्खेत विमानस्थलमा स्वास्थ्यकर्मी खटाउने तयारी भएको जानकारी दिए । एउटा नाकामा कम्तीमा पाँच जनासम्मको टोली राखिनेछ । जुन चिकित्सक, प्रयोगशाला र औषधिसहितको टोली हुनेछ ।
कोरोना लक्षित गरेर प्रदेश अस्पतालले पनि थप सतर्कता अपनाएको छ । यदि कोरोनाको संक्रमण भेटिएमा उपचारका लागि भनेर आइसोलेसन वार्ड तयार पारिसकिएको छ ।

‘कर्णाली प्रदेशमा सकेसम्म कोरोनाको संक्रमण नआउला’ मन्त्री रावलले थपे, ‘यदि आइहाले पनि पाँच वटा आइसोलेसन वार्ड कर्णाली प्रदेश अस्पताल सुर्खेतको नयाँ भवनमा तयार गरेका छौं ।’ क्वारेन्टाइनको समेत व्यवस्था गरेको मन्त्री रावलले जानकारी दिए । मन्त्रालयले कर्णाली प्रदेशका सम्बन्धित सबै जिल्ला अस्पताललाई समेत पूर्वसतर्कता अपनाउनको लागि निर्देशन दिएको छ । रावलले कुनै पनि हालतमा कर्णालीमा कोरोना भित्रिन नदिने गरी सरकारले तयारी गरेको बताए ।

उता कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कोरोना सम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको निर्देशक रीता भण्डारीले बताइन् । उनले कर्णालीमा उच्च सतर्कता अपनाइएको भन्दै कर्मचारीहरूलाई समेत तालिम दिने काम भएको जानकारी दिइन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा कोरोना नियन्त्रण समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी केशवप्रसाद उपाध्यायका अनुसार समितिमा सबै सरोकारवाला निकाय तथा व्यक्तिहरू रहेका छन् ।

‘यो सर्वपक्षीय समिति हो’ उनले भने ‘यसमा स्वास्थ्य, सुरक्षा तथा स्थानीय तहका प्रतिनिधि र दलका नेताहरू समेत हुनुहुन्छ ।’ कर्णाली प्रदेशमा कोरोना भाइरस भित्रिन नदिनको लागि आवश्यक काम गर्न समितिको नियमित बैठक समेत बसेको उनले जानकारी दिए । बिहीवार समितिको बैठक बसी विभिन्न निर्णय गरेको छ । बैठकले कोरोना संक्रमणप्रति सजगता अपनाउन, रोकथाम तथा नियन्त्रणका लागि रणनीति, पूर्वतयारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयलये मन्त्रिपरिषद्मा
प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यायले बताए ।

त्यस्तै कोरोना संक्रमण रोकथामको पूर्वतयारी, संक्रमण देखिएमा प्रतिकार्य तयारी, स्वास्थ्यकर्मी तालिम, सुरक्षा र आवश्यक पूर्वाधार व्यवस्थाको लागि प्रदेश स्वास्थ्य निर्देशनालयबाट कार्ययोजना अनुसार कार्य सञ्चालन गर्ने, संक्रमण रोकथामको लागि आवश्यक सेनिटाइजर, मास्क, औषधि लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको कृत्रिम अभाव, कालोबजारी नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीले नियमित अनुमगन गर्ने र कोरोना भाइरस संक्रमणविरुद्ध सजगता, रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला सबै पक्षले भूमिका निर्वाह गर्ने निर्णय भएको उपाध्यायले जानकारी दिए ।

निगरानीमा जापानी युवा

यसैबीच उच्च ज्वरो देखिएपछि सुर्खेतमा आएका जापानी नागरिकलाई विशेष निगरानीमा राखिएको छ । काठमाडौंबाट सुर्खेत आएका ती युवामा ज्वरो बढेको देखिएपछि सतर्कताका लागि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको हो ।

सुर्खेत विमानस्थलमा बिहीवारबाट सुरु गरिएको हेल्थ डेस्कमा जाँच गर्दा ती व्यक्तिमा १००.५ डिग्री ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको कर्णाली प्रदेश अस्पताल कालागाउँका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए । ‘विदेशबाट आएको व्यक्ति त्यो पनि ज्वरो आएपछि निगरानीमा राखिएको हो’ उनले भने
‘आत्तिनु पर्ने अवस्था छैन  । उनलाई तत्काल आइसोलेसन कक्षमा राख्नुपर्ने अवस्था पनि छैन ।’ उक्त व्यक्तिको घरमै राखेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गरिरहेका उनले बताए । उनी जापानबाट कोरिया हुँदै नेपाल आएको खड्काले बताए ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७६, शुक्रबार ०८:५०