गाउँपालिका अध्यक्षविरुद्ध २५ लाख भ्रष्टाचारको मुद्दा

सुर्खेत : जाजरकोटस्थित जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । २५ लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अध्यक्ष केसी र सोही गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजबहादुर शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसन वापत रकमको लागि बार्गेनिङ गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । कमिसनका लागि केसी र शाहीले पटक–पटक धम्की दिएको समेत अख्तियारले उल्लेख
गरेको छ ।

अख्तियारको अनुसन्धानको क्रममा नगद लिएको, बैंक खातामा जम्मा गर्न, विभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाएर २५ लाख ५० हजार घुस लिएको खुलेको थियो । अख्तियारको आरोपपत्रमा केसी र शाहीसँग बिगो २५ लाख ५० हजार भराउन र कैद सजाय माग गर्दै उजुरी दर्ता गरिएको छ । गाउँपालिका अध्यक्ष केसी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७६, शुक्रबार ०८:४५