विवादकाबीच सकियो स्ववियु निर्वाचन, परिणामले सुर्खेतको राजनीतिमा तरङ्ग

14188105_1086238291483983_2831802394940719484_oसाझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
निर्वाचन मितिमा नै विवाद भएर सुरु भएको स्ववियु निर्वाचन अन्ततः अनेक विवादकैबीच सम्पन्न भएको छ । पहिलो पटक भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाजी मारेको छ । उसले प्रत्यक्षतर्फको निर्वाचनमा अध्यक्षसहित नौ पदमा विजय हासिल ग¥यो । त्यस्तै समानुपातिकतर्फ पनि पहिलो हुन सफल भएको छ ।
विवादकैबीच निर्वाचन समितिले सोमवार राती परिणाम सार्वजनिक गरेको थियो । जसअनुसार नेविसंघका उम्मेदवार झक्कबहादुर शाहीले पाँच सय चार मतसहित विजयी हुँदा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका राजेन्द्र बुढाले चार सय ६४ र नेकपा एमाले निकट अनेरास्ववियुका प्रभात पोख्रेलले तीन सय ९२ मत प्राप्त गरे । त्यसैगरी सचिवमा भने अनेरास्ववियुका उम्मेदवार भरत शाहीले पाँच सय ३३ मत प्राप्त गरी विजयी हुँदा नेविसंघका सन्तोषकुमार उपाध्यायले चार सय ७६ र अखिल क्रान्तिकारीका रवि केसीले दुई सय ९८ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघकै सुशील भट्टराईले पाँच सय ६२ मत ल्याएर विजयी भए । सात सदस्यमा पनि नेविसंघका उम्मेदवारहरू नै विजयी भए ।
स्ववियु निर्वाचनको परिणामले यतिबेला सुर्खेतको राजनीतिमै तरङ्ग पैदा गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको पहिलो स्ववियु निर्वाचन भएकाले पनि जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरूले यसलाई विशेष महŒवका साथ लिएका थिए । आफू निकट विद्यार्थी सङ्गठनहरूलाई जिताउन जिल्लातहका पार्टी नेताहरू नै सक्रिय भएका लागेका थिए । निर्वाचनमा विद्यार्थी सङ्गठनहरूबीचको प्रतिस्पर्धा भए पनि त्यसका पछाडि भने प्रमुख राजनीतिक दलहरूबीचकै प्रतिस्पर्धा प्रष्ट देखिन्थ्यो । यसले स्ववियु निर्वाचन केवल विद्यार्थीहरूको प्रतिस्पर्धा मात्र नभएर दलहरूको प्रतिष्ठाको लडाईं नै बनेको बुझ्न सकिन्छ । प्रत्येक विद्यार्थी सङ्गठनका केन्द्रीय नेतृत्वदेखि जिल्लातहका पार्टी नेताहरूको सक्रियताले पनि यसको पुष्टि गर्दछ ।
नेविसंघको विजयले यतिबेला नेपाली कांग्रेस सुर्खेतमा खुशीयाली छाएको छ । नेविसंघले मंगलवार वीरेन्द्रनगरमा निकालेको विजय ¥यालीमा विद्यार्थीहरूका साथै पार्टी नेताहरूको पनि सहभागिता रहेको थियो । ¥याली समापनमा क्षेत्र नं. ३ सुर्खेतका सांसद तप्तबहादुर विष्ट, नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी लगायतले सम्बोधन गरेका थिए । कांग्रेस निकटका प्राध्यापक, कर्मचारीहरूको पकड रहेको विश्वविद्यालयमा स्ववियु पनि जितेपछि विश्वविद्यालय ‘कब्जा’ गरेको भन्दै कांग्रेसका नेताहरूले खुशीयाली मनाएका छन् ।
आफू निकट विद्यार्थी सङ्गठनले मप विश्वविद्यालयको पहिलो स्ववियु निर्वाचनमा पराजय बेहोरेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत अन्य दलहरू भने यतिबेला पराजयको पीडामा छन् । पराजयपछि नेकपा एमालेभित्र आरो प्रत्यारोप समेत चलेको छ । एमालेका केही नेताहरूले सामाजिक सञ्जालमार्फत् नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । कतिपयले उम्मेदवार छनौट गर्दा गुटगत राजनीति हावी भएको आरोप लगाएका छन् भने कतिपयले अन्तरघात भएको आरोप समेत लगाएका छन् । अनेरास्ववियुका अरु सबै उम्मेदवार पराजित हुँदा सचिव पदका उम्मेदवार भरत शाहीले विजय हासिल गरेपछि केही नेताहरूले अन्तरघात भएको टिप्पणी गरेका थिए ।
नेविसंघ र अनेरास्ववियुमा उम्मेदवार छनौटमै विवाद भइरहँदा एकमतका साथ उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्र पनि यतिबेला पराजयको पीडामा छ । कतिसम्म भने मतगणनामा पराजित हुने निश्चितप्राय भइसकेको अवस्थामा अखिल क्रान्तिकारीका उम्मेदवार राजेश बुढाले मतपत्र नै च्यातिदिएका थिए । फर्जी मत हालेको, धाँधली गरेको लगायतका आरोप लगाउँदै अखिल क्रान्तिकारीले मतगणना सकिनु अगावै बहिस्कार गरेको थियो । अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत पाँच विद्यार्थी सङ्गठनले फर्जी मतका बारेमा छानविन गर्न माग गर्दै मतगणना बहिस्कार गरे पनि निर्वाचन समितिले सोमवार राती नै परिणाम सार्वजनिक गरेको थियो ।
निर्वाचन समितिले मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर निर्वाचनमा धाँधली नभएको जनाएको छ । समितिका संयोजक एवम् इन्जिनियरिङ्ग सङ्कायका निमित्त डीन अनन्तराज घिमिरेले फर्जी मत हालेको भन्ने आरोप गलत भएको भन्दै निर्वाचन सहज रूपमा सम्पन्न भएको बताए ।

प्रकाशित मितिः   १५ भाद्र २०७३, बुधबार ०४:३९