कर्णालीमा कोरोनाको त्रास

 ध्रुवकुमार अधिकारी

विषय प्रवेश

‘मन भए मेला हुन्छ’ प्रचलित नेपाली उखान हो । म आफै पनि गाउँतिर हुँदा गाउँमा एक वर्षमा तीन चारवटा जति जात्रा लाग्ने गर्दथे । जात्राका नाम चाडपर्व तथा ठाउँ विशेषका नामबाट हुन्थे । मैले आफूले हेरेका जात्रामा तिजको जात्रा, डाँडीमाँडीको जात्रा, कोटको जात्रा, श्रीस्थानको जात्रा, खरीगैराको जात्रा, शुभाघाटको जात्रा यस्तै–यस्तै । यसै क्रममा अलि जात्राको विकसित रूप हाट बजारको रूपमा रह्यो । पछिल्लो समयमा सहरमा जात्रालाई मेला भन्न थालियो । यो लहर गाँउसम्म पनि फैलियो । महोत्सवको नाम दिइयो । नाममा आधुनिकीकरण गरियो । मानिसहरूको कला, गला, सामान, विचार बेच्ने ठाँउमा रूपान्तरण गरियो । नेता आएर भाषण गर्ने मञ्च पनि बनाइयो । यसै क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली एक्सपोको नाममा महोत्सव लागेको थियो । जसको आयोजक सुर्खेत उद्योग वाणिज्य संघ थियो । जुन महोत्सवलाई एकछिन मैले पनि अवलोकन गर्ने मौका पाएको थिएँ । म त्यहाँ पुग्दा धेरै मानिसहरूको भिड थियो ।

महोत्सवमा पनि कोरोनाको त्रास

म जति ठाउँमा उभिन्थेँ । हरेक मानिसले कोरोनाको कुरा गरिरहेको पाएँ । उद्घोषकले प्रस्तुति प्रस्तुत गराउन भन्दा पनि आफै भाषण गरिरहँदा दर्शकहरू नोबेल कोरोनाको कुरा गरिरहेको सुुनिन्थ्यो ।

के हो नोबेल कोरोना ?

मैले बुझे अनुसार नोबेल कोरोना भाइरस एक नयाँ प्रजातिको भाइरस हो । यस्तो प्रकारको भाइरस पहिला मानव जातिमा देखा परेको थिएन । यो भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । तर पनि बीचमा जे जस्ता हल्लाहरू फैलिए पनि यो भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टि भने भएको छैन । मानिस यो भाइरसबाट कसरी संक्रमित भएका छन् भन्ने कुरा अझै पनि वैज्ञानिक तवरले पुष्टि नभएको कुरा रहेको छ । हाल यस विषयमा विभिन्न तरिकाले अनुसन्धान भइरहेको छ । यो अहिले विश्वको साझा मुद्दा भएको छ । यसको आतंक रोक्न विश्व बैंकदेखि संसार आफ्नो देशको क्षमता अनुसार लागिरहेका छन् । यस प्रकारको भाइरसले सामान्य रुघाखोकीदेखि लिएर गम्भीर प्रकारको तीब्र श्वासप्रश्वाससम्म हुने गर्दछ । यो भाइरस जनावरबाट पनि मानिसहरूमा संक्रमित भएको पनि तथ्यांक छैन । एउटा अर्को भाइरस सन् २००३ मा देखिएको थियो  । जसको नाम सार्स भाइरस थियो । त्यो सार्स भाइरस र हालको नोबेल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन् भनिएको छ ।

नोबेल कोरोना भाइरसको बारेमा अहिले नै सबै कुरा ढुक्कसँग भन्नको लागि डाक्टर र अनुसन्धानकर्ताहरू पनि तयार छैनन् । चीनदेखि लिएर विश्वका अनुसन्धानकर्ताहरू र डाक्टरहरू पनि तीव्र अनुसन्धानमा रहेका समाचारहरू आइरहेका छन् । यसको निश्चित उपचार पनि नभएको बताइएको छ । औषधि पत्ता लाग्यो रे, खोप पत्ता लाग्यो रे जस्ता विभिन्न अपुष्ट हल्लाहरू पनि त्यत्तिकै रूपमा आएका छन् । यसका लक्षणमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा अत्याधिक समस्या हुने कुरा गरिएको छ । नियमित रूपमा साबुन पानीले हात धुने, खोक्दा वा हाँछ्यू गर्दा नाक र मुख छोप्ने, यदि फ्लू जस्तो लक्षण देखिएमा डाक्टरसँग परामर्श लिने, जो कोहीको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पाकेको मात्र खाने, व्यक्तिगत सरसफाइमा अत्याधिक ध्यान दिने, भिडभाडमा सावधानी अपनाउने, यदि लक्षण देखिएमा अस्पताल सम्पर्क गर्ने जस्ता कुरा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सचेत र प्रचार गरेको देखिन्छ । नोबेल कोरोना भाइरसको संक्रमणको विषयलाई ध्यान दिएर चीनले चीनका केही सहरको भ्रमणलाई समेत बाहिर जान र बाहिरबाट आउन सक्ने प्रतिबन्ध लगाएको छ । नेपालमा पनि सतर्कताका प्रयासहरू भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै चेकजाँच र हेल्पडेस्कको व्यवस्था गरिएको रहेछ । चीनबाट फर्काएर ल्याइएका मानवश्रोतलाई पनि परीक्षण को व्यवस्था गरिएको रहेछ ।

नेपालीको रोजगार प्रभावित

नेपालको प्रमुख रोजगार गन्तव्य दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमणको विस्तार भएको समाचार आएको छ । थेगुको एउटा कम्पनीले त चीन र नेपालका कामदारहरूलाई आफ्नो देशमा फर्क भनेर भनेको कुरा एक दोलखाबाट दक्षिण कोरिया गएका युवकले सामाजिक सञ्जालमा लेखेका थिए । पछिल्लो समय प्रमुख सहर थेगुमा यो फैलिन सुरु भएको भनिएको छ । यसै गरी मलेसिया, युएइ, ओमन, मकाउ, इटाली, इरान, जापान, लगायतका देशमा समेत यसको संक्रमण देखिसकेको समाचार आएको छ ।

नेपालमा चिन्ता

हामी स्वाभिमानी देशका परनिर्भर नेपाली हौं । हाम्रा स्वास्थ्य केन्द्र र अस्पताल कमजोर रहेका छन् । हरेक क्षमता कमजोर छ । अर्कोतिर नेपालको अर्थतन्त्रमा वैदेशिक व्यापार, पर्यटन, विदेशी लगानी र प्राविधिक परनिर्भरता भारतपछि चीनसँग भएकोले यहाँको अर्थतन्त्रमा समेत असर पर्ने देखिन्छ । यसले आयात–निर्यात, पर्यटन आगमन, सम्भाव्य विदेशी लगानी र लगानी भइसकेका क्षेत्र, विकास निर्माणका आयोजना, रोजगारीका लागि विदेशिने, श्रमशक्ति र रेमिन्ट्यान्समा असर देखा परिसकेको छ । थोरै भए पनि नेपाली सामान चीन निर्यात गरी विदेशी मुद्रा आर्जनको ढोका पनि यसले बन्द गरेको छ । नेपाल चीनको हवाइमार्ग समेत पातलियो । चीनबाट भारत हुँदै नेपाल ल्याइने औषधि लगायतका वस्तुमा असर प¥यो । पर्यटन वर्ष २०२० पनि यही कारणले थला पर्ने देखिन्छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२२ स्थगित गर्ने निर्णय समेत गर्न सक्ने समाचार आएको छ । नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई पनि यसले प्रभावित ग¥यो । विप्रेषणमुखी नेपाली अर्थतन्त्रलाई पनि त्यत्तिकै असर परेको छ । नेपालमा विभिन्न परियोजना तथा आयोजनामा चीनियाँ कामदार नफर्किनु र विभिन्न सामग्री आयातमा समेत असर रहेको छ । अहिलेको विश्वव्यापीकरणको प्रभाव र असर विभिन्न कारणले पर्ने गर्छ ।

कर्णाली एक्सपोको अवलोकनमा

विविध प्रकारका स्टलहरू रहेका थिए, एक्सपोमा । स्टलमा विविधता हुनु आफैमा पनि राम्रो कार्य हो । कृषकलाई अर्गानिक मल बनाउनको लागि सिकाउने, खेती विज्ञ ल्याउनु, केही अशक्तलाई इन्द्रेणीको टिममार्फत सहयोग गर्ने वातावरण मिलाउनु, विभिन्न कलाकारहरूलाई बोलाएर परिचित गराउनु पनि सकारात्मक कुरा हुन् । तर धेरै व्यवस्थापकीय कमजोरीहरू देखिन्थे । टिकटहरू महँगोमा बेच्ने र धेरै रकम असुल गर्ने गरेको देखिन्थ्यो । कतिपय टिकट प्रदान गर्नेहरू नै मदिरा पिएर अभद्र व्यवहार गरेका थिए । त्यो म आफैले पनि एउटा वृद्ध मान्छेलाई थर्काएको देखेँ । असभ्यहरूलाई त्याहाँ राख्नु कमजोरी हो । उद्घोषणमा धेरै समय बिताएको देखिन्थ्यो । मेला भनेपछि कार्यक्रम र प्रस्तुती प्रति नै सबैको ध्यान जान्छ । केही कार्यक्रम अस्लिलताले एउटै परिवारका सबै सदस्यसँगै बसेर हेर्न लायक पनि थिएन । लण्डन ब्रिज आकर्षणको एउटा वस्तु भए पनि आलोचनाको वस्तु पनि बन्यो । व्यापारीहरू पूर्वतिरका धेरै थिए । कर्णालीका मानिसहरू नै कमजोर आर्थिक अवस्था र उद्यमशिलताको अभाव रहेको महसुस भयो ।

मैले विभिन्न व्यापार गर्ने ४० जनालाई हजुरहरू कहाँबाट आउनु भएको हो नि भन्दा २६ जना कर्णाली प्रदेश भन्दा बाहिर विशेष गरी पूर्वी नेपालका रामेछाप, महोत्तरी, स्याङजा, बुटवल, कपिलवस्तु, कैलाली, अर्घाखाँची, गोर्खा, काठमाडौं भन्ने जवाफ दिएका थिए । यसबाट के पुष्टि हुन्छ भने कर्णाली जनता अझै उपभोक्ता नै हुन् । उद्यमी होइनन् र यो महोत्सव पनि कर्णालीमा रहेका केही पैसा पनि अन्यत्र पठाउन गरिएको जस्तो लाग्यो । नगरपालिकाको अनुगमनमा पनि जनताले धेरै प्रश्न उठाए । नामै कर्णाली एक्सपो भएकोले कर्णालीमा उत्पादित वस्तुको मात्रै मेला लगाउन नसक्नु आयोजक लगायत यहाँका विभिन्न प्रकारका रमिते सरकारको कमजोरी हो । एकदिनमा नै एक परिवारले तीनहजार भन्दा बढी खर्च गरेको देखिन्थ्यो । टिकट महँगो लाग्दथ्यो । बालबालिकालाई खेल्ने फन सामग्री त्यत्तिकै महँगा थिए । यस्ता कुराहरूमा समेत ध्यान दिन सके आगामी मेलामहोत्सवहरू प्रभावकारी बन्न सक्लान् ।

उपसंहार

समग्रमा कर्णाली एक्सपो नोबेल कोरोना भाइरसको त्रासमा सम्पन्न भयो । नोबेल कोरोनाको महामारीले यति मात्र होइन, अब सबै प्रकारका मेला महोत्सवमा समेत यसको त्यत्तिकै असर रहन सक्छ । यसले हाम्रो अर्थतन्त्रमा समेत नराम्रो असर पार्नेछ । अर्कोतिर हाम्रा मेला महोत्सवलाई पनि अलि सभ्य र शिष्ट बनाउनु आवश्यक छ । सायद आगामी दिनमा यस्ता कुरामा विचार पुगोस् ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७६, बिहीबार ०५:०३