कोरोनाबारे प्रदेश संसद्मा चर्चा

संवेदनशील बन्न सरकारलाई सुझाव

सुर्खेत : कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश सरकारले समयमै सजगता अपनाउनुपर्नेमा कर्णाली प्रदेशसभाका सदस्यहरूले जोड दिएका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले कोरोना भाइरस रोक्न सरकारले के गरेको छ ? भन्दै प्रश्न गरेका थिए ।

बैठकको विशेष समयमा बोल्दै सांसद हिमबहादुर शाहीले कोरोना भाइरसलाई रोकथाम गर्नको लागि प्रदेश सरकारले पूर्व तयारी गर्नुपर्ने बताए । ‘यसको लागि सरकारले के उपाय अवलम्बन गरेको छ ?’, उनले भने ‘कर्णालीका विमानस्थलहरूमा समेत कडाई गर्नुपर्छ ।’ अर्का सांसद अम्मरबहादुर थापाले समेत विश्वमा कोरोना भाइरसको आतंक मच्चिएको बेला मुलुकका साथसाथै प्रदेशले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘छिमेकी देशबाट फैलिएको कोरोनाबाट नेपाल अछुतो रहन सक्दैन’, उनले भने ‘त्यसको लागि सरकारले होसीयारी अपनाउनुपर्छ ।’ प्राणघातक रोग कोरोना भाइरसबाट पहिले नै होसियारी भइएन भने पछि ठूलो समस्या आउन सक्ने उनले बताए । बैठकमा सांसद सीताकुमारी नेपालीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुर्घटना बढेको भन्दै सडक सुरक्षाको लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताइन् । बढ्दो जनसंख्यालाई ध्यानमा राखी सुरक्षा रणनीति अपनाउनुपर्ने उनले बताइन् ।

सोमवारको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले यसअघिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । उनले सांसदहरूले रातो किताबमा उल्लेख भएका योजनाहरू फेरिएको विषयमा कुरा उठाएको भन्दै यस्तो कमजोरी मन्त्रालयबाट नभएको बताए । उनले कमजोरी भएको भए जानकारी दिन सांसदहरूलाई आग्रह समेत गरे । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश लोक सेवा ऐनलाई पहिलो संशोधन गर्न बनेको विधेयक–२०७६ लाई सैद्धान्तिक छलफलका लागि आह्वान गरेका थिए । छलफलमा भाग लिँदै सांसद देवी ओलीले राम्रो कानुन निर्माण गर्नको लागि सरकारले ध्यान दिनुपर्ने धारणा राखिन् ।

प्रकाशित मितिः   २० फाल्गुन २०७६, मंगलवार ०९:२६