कर्णालीबारे विमर्श गर्न उत्सव

सुर्खेत : कर्णालीलाई चिन्न र चिनाउन सोमवारदेखि कर्णाली उत्सव सुरु भएको छ । ‘कुुडा कर्णालीका’ नारासहित कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने उत्सवमा यहाँको भाषा, संस्कृति, रहनसहन, भेषभूषा, साहित्य, सम्भावना, आर्थिक, पर्यटन, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस गरिनेछ ।

कार्यक्रममा पहिलो दिन सरकारका तीन तहबीचको अन्तरसम्बन्ध, कर्णालीको विकास र समृद्धिको विषयमा छलफल गरिएको छ । संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुुख कान्तिका सेजुुवालले यस विषयमा छलफल गरेका थिए । छलफलमा कर्णालीको विकास र समृद्धिका लागि संघीय सरकारले विशेष जोड गर्नुपर्ने, यहाँको सम्भावनाको सही सदुुपयोग गरी समृद्ध हासिल गर्न सकिने तथा प्रदेश र स्थानीय तहलाई पूर्णरूपमा कार्यकारणी अधिकार दिनुपर्नेमा जोड दिइएको थियो । मन्त्री बस्नेतले कर्णालीको विकासका लागि देखिएका समस्याको समीक्षा र सही समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

यस्तै खस सभ्यताको विरासत, खस भाषाको विकास र संरक्षणका विषयहरूमाथि रमानन्द आचार्य, डा. वद्री चापागाईं र रमेश ढुङ्गेलले छलफल गरे । खस भाषाको शब्दकोश लेखक आचार्यले खस भाषालाई यहाँका बासिन्दाले बोलीचालीको भाषाको रूपमा प्रयोग गर्नुपर्ने बताए । उनले नेपाली भाषा बोल्नेले पनि खस भाषाका शब्दहरू बोल्ने गरेकाले प्रदेश र स्थानीय सरकारले भाषाको संरक्षणमा ध्यान दिनुपर्ने बताए । यस्तै लैंगिक विभेद, कर्णालीका महिलाहरूको सामाजिक अवस्था तथा भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिता लगायतका विषयवस्तुमाथि सञ्जिव उप्रेती, उषा तितिक्षु र गीता कोइरालाले बहस गरे भने सोमवार नै गजल वाचन समेत गरिएको थियो ।

त्यसअघि नेपाल सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उत्सवको उद्घाटन गरेका थिए । कर्णाली उत्सव अवधिभरसम्म ‘काला पहाडका तोडा’, ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘दबाई र देउता, भोक र भकारी’, कृषि पर्यटन र पानी, पूर्वाधारमा लगानी, नेपाली साहित्यमा कर्णालीको स्थान, लोपोन्मुख राउटे जातिको अवस्था लगायतका विषयमाथि बहस गरिने जनाइएको छ ।

प्रकाशित मितिः   २० फाल्गुन २०७६, मंगलवार ०९:२३