आजदेखि कर्णाली उत्सव

सुर्खेत : ‘कुडा कर्णालीका’ मुख्य नारासहित सुर्खेतमा आज (सोमवार)देखि कर्णाली उत्सव सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेशनका अनुसार आज बिहान ११ बजे बुलबुले उद्यानमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उत्सवको उद्घाटन गर्नेछन् ।

उद्घाटन अघि बिहान ७ देखि ९ बजेसम्म कर्णाली राइर्डस क्लबले मंगलगढीचोक हुँदै वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा साइकल ¥याली गर्नेछ । उद्घाटन सत्रपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली घुमौं, कर्णाली चिनौं’ भन्ने सन्देशमा आधारित विद्धत प्रवचन दिनेछन् । उत्सवका संयोजक कमल लम्सालले मन्त्री भण्डारीको विद्धत प्रवचन पश्चात् औपचारिक सत्र सुरु हुने जानकारी दिए ।

उत्सव आयोजकका अनुसार पहिलो सत्र रहेको छ, ‘सरकारका तीन तह, बगाउन्या कर्णालीका बह’ । लेखक÷पत्रकार सरोजराज अधिकारीले सञ्चालन गर्ने यस सत्रमा संघीय सरकारका तर्फबाट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र स्थानीय सरकारका तर्फबाट चन्दनाथ नगरपालिका जुम्लाकी प्रमुख कान्तिका सेजुवालले तीन तहका सरकार र कर्णालीका बारेमा बहस गर्नेछन् । दिउँसो १ देखि २ बजेसम्म हुने सत्रमा तीन तहका सरकारबीच आपसी समन्वय, कर्णालीको अवस्थाबारे घनीभूत छलफल हुनेछ ।

दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘खसका खासखुस’ नामक सत्र सञ्चालन हुनेछ । कर्णालीबासी लेखक माधव चौलागाईले सञ्चालन गर्ने सत्रमा खस भाषाको पहिलो शब्दकोष ‘खसिया आखर’का लेखक खसभाषी रमानन्द आचार्य, डा. बद्री चापागाई र डा. रमेश ढुङ्गेलले बहस गर्नेछन् । कर्णालीबाट उत्पत्ति भएको खस भाषाको विगत, वर्तमान र भविष्यका सन्दर्भमा उक्त सत्रमा बहस गरिनेछ । ३ बजेदेखि ४ बजेसम्म ‘संस्कार र समानता’ शीर्षकमा हुने बहसमा सञ्जीव उपे्रती, उषा तितिक्षु र गीता कोइराला वक्ता रहेका छन् । जसको सञ्चालन टीका विष्टले गर्नेछिन् ।

त्यस्तै, ‘कर्णालीको रंगमञ्च’ शीर्षकमा ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने सत्रमा इन्द्रा हमाल, मिन भाम र गणेशभक्त गौतमले बहस तथा सञ्चालन रंगकर्मी एवं पत्रकार प्रकाश लामिछानेले गर्नेछन् । ५ बजेदेखि ६ बजेसम्म गजल वाचन हुने आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने उत्सवमा कर्णालीका विविध विषयमाथि छलफल हुनेछ ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७६, सोमबार ०५:०४