मेयरकप फुटबल प्रतियोगिता हुँदै

सुर्खेत: जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । वीरेन्द्रनगर नगरपालिका भित्रका १६ वटै वडाबाट खेलाडी सहभागी हुने गरी चैत्र १ देखि ८ गतेसम्म वीरेन्द्रनगरमा उक्त प्रतियोगिता हुने भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा नगरभित्रका १६ वडाका १६ समूह सहभागी हुने जिल्ला फुटबल संघले जानकारी दिएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु हुने प्रतियोगिता सञ्चालनको लागि झण्डै चार लाख ७० हजार लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेता ३१ हजार पुरस्कार उपलब्ध गराउने जिल्ला फुटबल संघ सुर्खेतले बताएको छ । त्यसैगरी विभिन्न पाँच वटा विधामा उत्कृष्ट खेलाडीलाई समान ५÷५ हजारका दरले पुरस्कार वितरण गरिने छ भने प्रत्येक दिन खेलमा राम्रो प्रदर्शन गर्नेलाई म्यान अफ द म्याच घोषणा गरेर दुई हजार पाँच सय उपलब्ध गराइने छ ।

संघका अध्यक्ष जनकबहादुर रावलले भौतिक संरचनाको अभावका कारण जिल्लामा खेलकुदका गतिविधिहरू सञ्चालन गर्न नसकेको बताए । उनले नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरूको प्रतिभा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको भन्दै आगामी वर्षदेखि वीरेन्द्रनगरसहित जिल्ला बाहिर पनि खेलकुदका गतिविधि सञ्चालन गरिने बताए ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७६, सोमबार ०५:०३