मदन भण्डारी राजमार्गको विवाद समाधान

सुर्खेत : मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सुर्खेतको पञ्चपुरी नगरपालिकामा देखिएको विवाद समाधान भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवम् सुर्खेत क्षेत्र नम्बर २ का सांसद नवराज रावतको पहलमा विवाद समाधान भएको हो ।

राजमार्ग बनाउँदा सालकोट वा बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा विवाद रहँदै आएको थियो । अब भने सालकोट हुँदै लैजाने र हाल खम्बागाडे, बाबियाचौर हुँदै विद्यापुर जोड्ने सडकको स्तरोन्नति गरी त्यही मापदण्डको सडक बन्ने सहमति भएपछि विवाद समाधान भएको हो । राज्यमन्त्री रावतको पहलमा खम्बागाडे बावियाचौर हुँदै विद्यापुर जोड्ने सडकलाई ५० मिटर चौडाइको बनाउनका लागि डीपीआरको काम शुक्रवारबाटै सुरु गरिएको छ ।

उक्त सडक करिब २० किलोमिटर लम्बाई हुनेछ, भने ५० मिटर चौडाको बन्नेछ । राज्यमन्त्री रावत आफै शुक्रवार खम्बागाडे पुगी डीपीआर कार्यको उद्घाटन गरेका छन् । रावतले आफूले गरेका प्रतिबद्धता पूरा गर्दै आएको भन्दै विकासका काममा विवाद नभइ सहयोग गर्नुपर्ने बताए । ‘निर्वाचनका बेला पश्चिमको सडकलाई केन्द्रीय सडकमा जोड्ने छु भन्ने प्रतिबद्धता गरेको थिएँ,’ डीपीआरको सुरुवात कार्यक्रममा जम्मा भएका नागरिकसँग राज्यमन्त्री रावतले भने, ‘मैले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्दै गएको छु तपाईंहरूले विकासमा विवाद होइन सहयोगी बन्नु प¥यो ।’

५० मिटर चौडा मापदण्डको लागि डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (आईई) तत्कालै सुरु भएको र आउँदो आर्थिक वर्षमै बजेटको पनि व्यवस्था गर्ने राज्यमन्त्री रावतले प्रतिबद्धता जनाए । उनले सानातिना समस्या आएमा समाधान गर्ने जिम्मेवारी स्थानीय तह र जनप्रतिनिधिको भएको भन्दै डीपीआर बनाउने कार्यमा सहयोग गर्न आग्रह गरे ।

यसैक्रममा राज्यमन्त्री रावतले विकासका लागि आएको बजेटको सदुपयोग भए÷नभएको हेर्न बुद्धिजीवी तथा स्थानीय सबै नागरिकहरूलाई अनुरोध गरे । यसै क्रममा राज्यमन्त्री रावतले सालकोटमा रहेको प्राथमिक स्वास्थ्यचौकीमा एक हप्ताभित्रैमा चिकित्सक पठाउने प्रतिबद्धता पनि जनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सबै नेपालीलाई सर्वसुलभ स्वास्थ्य सेवा दिनका लागि पहल भइरहेको उनले बताए ।