जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत : गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु १ ज ४०७९ नम्बरको जीप शुक्रवार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो ।

मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । नेपालगन्जबाट सिम्ता जामुने बजारतर्फ गइरहेको उक्त जीप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए । प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता–९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताए । उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । घटनामा सिम्ता–९ का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय विरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७६, शनिबार ०९:०७