आश्रमलाई सहयोग

सुर्खेत : मानवसेवा आश्रमलाई विद्यालयले मुठ्ठीदान गरेको छ । जन नमुना माध्यमिक विद्यालय वीरेन्द्रनगर–६ सुर्खेतले मुठ्ठीदान गरेको हो । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रवार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबाट मुठ्ठीदान संकलन गरिएको थियोे । मुठ्ठीदानबाट दुई क्वीन्टल चामल, दश पोका खाने तेल, तीन हजार रूपैयाँ र अन्य खाद्य सामग्रीहरू उठाइएको सर्कलका अध्यक्ष शंकर आचार्यले जानकारी दिए । उनका अनुसार युवा रेडक्रस सर्कलको वार्षिक कार्यतालिका अनुसार उक्त कार्यक्रम सञ्चालन गरिएको हो । मानवसेवा आश्रमलाई संकलन गरिएको उक्त सामग्री शुक्रवार नै हस्तान्तरण गरिएको उनले बताए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण ढकालसहित युवा रेडक्रसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै युवा रेडक्रस सर्कलका सचिव मदनबहादुर थापाले मानवसेवा नै मानवताको दोस्रो रूप भएको बताए । उनले विद्यालयस्तरबाटै मानवताको सुरुवात गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।