पर्यटन प्रवद्र्धन गर्न सवारी साधनमा स्टिकर
सुर्खेत : नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउ पु¥याउन सार्वजनिक सवारी साधनमा पर्यटकीय स्थल अंकित स्टिकर टाँसिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित सवारी साधनहरूमा कर्णालीका पर्यटकीय स्थलहरूबारे सूचना समावेश भएका स्टिकरहरू टाँसिएको हो ।
मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले पर्यटन प्रवद्र्धनमा यातायात व्यवसायीले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे । उनले संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० र कर्णाली सरकारले सुरु गरेको घुमांै कर्णाली अभियानलाई प्रचार–प्रसारले थप टेवा पुग्ने बताए । मन्त्रालयले प्रदेशका पर्यटन क्षेत्रहरूको विकास गर्न पर्यटन गुरुयोजना निर्माण गरिसकेकाले पूर्वाधार विकास आगामी दिनमा एकद्वारबाट बजेट खर्च हुने सचिव आचार्यले जानकारी दिए ।
सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्न प्रा.लि.का सबै सवारीहरूमा कर्णालीका प्रमुख पर्यटकीय गन्तव्य अंकित स्टिकर टाँसिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले बताए । उनले समितिमा हाल एक सय बढी सवारी साधन रहेकाले सबै बस तथा माइक्रो सवारीहरूमा स्टिकर टाँस्ने बताए । पहिलो चरणमा प्रा.लि.ले सुर्खेत–काठमाडौं र जाजरकोट–काठमाडौंका लागि नयाँ ल्याइएका आठवटा रात्रीकालीन बस र कर्णालीका पहाडी सडकमा गुड्ने साना २० वटा बसहरूमा स्टिकरहरू टाँसेको छ ।
प्रदेश सरकारले बाह्य र आन्तरिक पर्यटकहरू कर्णालीमा भित्र्याउन ‘यसपालि घुमौं कर्णाली’ अभियान थालेको छ । प्रा.लि.ले कर्णालीका रारा ताल, देउतीबज्यै मन्दिर, बुलबुले उद्यान, जाजरकोट दरबार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, से–फोक्सुण्डो ताललगायतका पर्यटकीय स्थलहरू समावेश गरी स्टिकर सवारीमा टाँसिएको छ ।
प्रकाशित मितिः १६ फाल्गुन २०७६, शुक्रबार १०:२९
साझा बिसौनी ।