वर्षौंपछि घरमै आयो ‘अमृतजल’

1साझा बिसौनी संवाददाता
सुर्खेत, ११ भदौ ।
सुर्खेतको पूरानो सदरमुकाम गढी घुम्न आउँदा तत्कालीन राजा वीरेन्द्रले स्थानीयलाई एउटा सपना बाँडे, अग्लो डाँडामा रहेको उक्त वस्तीका घरघरमा धारा जडान गर्दै पानी खसाल्ने । वीरेन्द्रले मात्र होइन, सुर्खेतको नगरकोट भनेर चिचिने पर्यटकीयस्थल गढीमा खानेपानीको आश्वासन बाँडेर धेरै नेताले चुनाव पनि जिते । तर, कसलै गाउँमा पानी खसाल्न सकेनन् ।
राजादेखि नेतासम्मको आश्वासन कुरे पनि स्थानीयले वर्षौंदेखि आकाशकै पानीले गुजारा चलाउनुपर्ने बाध्यता टरेन । अग्लो डाँडामा बस्ती, नजिकै पानीको मुहान नहुँदा गढी र लेखगाउँका बासिन्दाले घण्टौं लगाएर गाग्रीमा पानी बोकेर प्राण धाने । प्राण धान्न अत्यावश्यक पर्ने पानी (अमृतजल) नहुँदा आकाशकै पानीबाट गुजरा चल्यो । वर्षौंसम्म पनि गाउँमा पानीको सुविधा नभएपछि अधिकांश परिवारले थाकथलो नै छोडे । राजादेखि नेतासम्मले आफ्नो वाचा पूरा नगरेपछि स्थानीयले गाउँमा पानी आउला भन्ने आश नै मारे । कसैले गाउँमा पानी ल्याउँछु भन्दा पनि गाउँलले पत्याएनन् ।
तर, अब उमेरले ६० वर्ष नाघेकी लेखगाउँ निवासी विनिसरा लामिछानेले झिसमिसेमै डोकोमा गाग्री राखेर पानीको खोजीमा दौड्नुपर्ने बाध्यता टरेको छ । राजा वीरेन्द्रले सपना बाँडेको ३५ वर्षपछि उनको घरमा रहेको धारामा पानी झरेको छ । जन्मेदेखि घर नजिकै धारा र पानी नदेखेकी विनिसरा जब आफ्नै धारामा पानी आयो, तब उनका आँखाबाट हर्षका आँशु खसे । ‘मैले गाउँमा पानी आउला भन्ने सोचेकी पनि थिइन, बाँचेपछि सबै देखिँदो रहेछ’ शनिवार धारामा पानी आएपछि विनिसराले भनिन्, ‘हेर्दाहेर्दै मेरो धारामा अमृतजल आयो, अब छोरानातीले सुख पाउने भए । यो बुढेशकालमा एक घण्टा उकालोमा गाग्रीमा पानी बोक्नुपर्ने समस्या ट¥यो, अब आकाशको पानी खाएर रोगी हुने दिन गए ।’ लिफ्टिङ्गबाट अग्लो डाँडामा रहेको बस्तीमा खानेपानी पुगेपछि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका गढी र लेखगाउँका बासिन्दा हर्षित बनेका हुन् ।
स्थानीय बासिन्दाको सक्रियतामा यूएनडीपीले लिफ्टिङ्गमार्फत् गाउँमा पानी खसालेपछि स्थानीयको घरघरमा पानीको सुविधा उपलब्ध भएको छ । गढीमा १२ किलोमिटर टाढा रहेको चन्दनेबाट लिफ्टिङ्ग गरेर पानी ल्याइएको छ । यूएनडीपीको करिब २० लाख र स्थानीयको जनश्रमदानबाट गाउँमा पानी आएको हो । गाउँमा पानी आउला भन्ने कल्पना नै नगरेका स्थानीय जब शनिवार धारामा पानी आयो, तब दंग परे । वर्षौंपछि गाउँमा खानेपानी उपलब्ध भएपछि स्थानीय बासिन्दाले नाचगान नै गरेर खुशीयाली मनाए । गढीमा करिब दुई सय ५० घरधुरीको धारामा पानी आएको छ । यस्तै लेखगाउँमा पनि चारसय ५० मिटर तलबाट लिफ्टिङ्ग गरेर गाउँमा पानी खसालिएको छ । यसका लागि यूएनडीपीले २० लाख र स्थानीयले १३ लाख लगानी गरेका छन् । उक्त आयोजनाबाट ४८ वटा धारामा पानी आउन थालेको हो । एक वर्ष लगाएर अग्लो डाँडामा रहेका गढी र लेखगाउँ गाविसमा पानी खसालिएको हो । गढी निवासी ५५ वर्षीय हर्कबहादुर दर्लामीले भने, ‘केटाकेटी र महिलाहरूलाई त हैरानै हुन्थ्यो, बिहानै उठेर पानी खोज्न जान्थे । पानीको जोहो गर्दैमा दिन बित्थ्यो, अब अस्पताल र स्कुलमा पनि पर्याप्त पानी हुने भयो ।’ पर्यटकीयस्थल भएका कारण पर्यटकहरूको आगमन हुने तर पानीको समस्याले गर्दा समस्या हुने गरेको उनले सुनाए । गाउँमा पानी खसेपछि अब पर्यटन व्यवसाय फस्टाउने र तरकारीमा सिँचाइको सुविधा पनि भएको भन्दै उनले खुशी व्यक्त गरे ।
यसअघि स्थानीय बासिन्दाहरू बिहान सबेरै उठेर पानीको लागि एक घण्टाको पैदल दूरीमा रहेको मुहानमा पानी लिन जाने गर्दथे । मुहानमा पनि घण्टौंसम्म पालो कुर्नुपर्ने बाध्यता थियो । तर अब यो समस्याबाट स्थानीयले वर्षौंपछि मुक्ति पाएका हुन् । बस्ती बसेको वर्षौंपछि गाउँमा पानीको सुविधा उपलब्ध भएको भन्दै स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जनताको सक्रियताले मात्र सम्भव भएको बताए ।
रेग्मीले भने, ‘यो डाँडामा पानी आउने कल्पना कसैले गरेका थिएनन्, कल्पना गर्नेहरूले पनि काम गर्न सकेनन् । तर, आज गाउँमा पानी आयो, अब यसलाई स्थानीयले नै संरक्षण गर्नुपर्दछ ।’ पानी प्राण धान्ने अमृतजल नै भएको भन्दै उनले अब स्थानीयको समय बचत हुने र त्यो समय आयआर्जनमा लगानी हुने विश्वास गरे । यस्तै यूएनडीपीका कन्ट्री डाइरेक्टर असिस्टेण्ट विजय सिंहले सुरुवातमा गाउँमा पानी आउँछ भन्नेमा आफूहरूलाई पनि आशंका रहेको भन्दै धारामा पानी खसेपछि मात्र ढुक्क भएको बताए । साथै उनले पानी विना मानिसको जीवन नै सहज नहुने भन्दै अब गाउँलेको जीवनस्तरमा पनि सुधार आउने दाबी गरे । गाउँमा ल्याइएको पानीले सिँचाइ पनि गर्न सकिने भन्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।