ब्राउनसुगर लगेर हिरासत पुग्दा…

साझा बिसौनी संवाददाता
सुर्खेत, १० भदौ ।
चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमान्लाई लागूऔषध ब्राउनसुगर पु¥याउन गएकी महिला पक्राउ परेकी छन् । चोरी आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका वीरेन्द्रनगर–१० का २४ वर्षीय प्रेम सिंहलाई लागूऔषध ब्राउनसुगर दिँदै गर्दा २० वर्षीया कल्पना सिंह पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयका अनुसार चुइगमभित्र लुकाइएको ब्राउनसुगर श्रीमान्लाई दिन लाग्दा बिहीवार बिहान कल्पना पक्राउ परेकी हुन् । प्रहरीले चुइगमभित्र लुकाइएको एक सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । कल्पनाले चपाइएको चुइगमभित्र प्लाष्टिकले बेरेर ब्राउनसुगर मुखभित्र राखेकी थिइन् । ‘भेट्ने क्रममा मुखबाट चुइगम निकालेर श्रीमान्लाई दिन लाग्दा गार्डले शंका मानेर चेकजाँच गर्दा उक्त परिणामको लागूऔषध फेला प¥यो’ प्रहरी निरीक्षक पाण्डेयले भने, ‘कल्पनालाई तत्कालै पक्राउ परेर अनुसन्धान सुरु गरेका छौं ।’
श्रीमान्लाई ब्राउनसुगर पु¥याउन गएकी कल्पना अहिले आफै प्रहरी हिरासतमा छिन् । ‘अदालतबाट म्याद थप गरेर हामीले घटनाबारे अनुसन्धान सुरु गरेका छौं’ उनले भने, ‘ब्राउनसुगर कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित छ ।’ कल्पनाका श्रीमान् प्रेम साउन ३० गते घुम्ती पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मितिः   ११ भाद्र २०७३, शनिबार १०:४२