नगरपालिकाद्वारा गाईगोरुको जन्मदर्ता

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका एक हजार सात सय पशुको जन्मदर्ता गराएको छ । सडकलाई छाडा चौपायामुक्त बनाउन गाईगोरुको जन्मदर्ता गराएर कानमा चिन्ह लगाइएको हो ।

सडकमा जथाभावी चौपाया देखिन थालेपछि यसलाई नियमन गर्न नगरपालिकाले जन्मदर्ताको विधि अपनाएको हो । गत कार्तिक महिनादेखि वीरेन्द्रनगर–१ बाङ्गेसिमल सुर्खेतबाट सुरु गरिएको अभियान अन्तर्गत करिब दुई हजार पशुचौपायाको जन्मदर्ता गराइएको वीरेन्द्रनगर नगरपालिका वातावरण तथा विपद्, अनुगमन उप–शाखाका प्रमुख यामलाल गिरीले जानकारी दिए । सडकमा छाडा चौपाय छोड्ने क्रम बढेपछि यो अभियान सुरु गरिएको उनले बताए । ‘पशुको मालिक पहिचान होस् र कारबाही गर्न सहज होस् भन्ने हेतुले कानमा ट्याग झुण्ड्याउने र पशुको जन्मदर्ता गरिएको हो’ उनले भने ।

‘गाईले दुध दिने र गोरुले जोत्नेबेलासम्म किसानले घरमै राख्छन्’ उनले थपे ‘चौपायाबाट फाइदा नहुने देखेपछि सडकमा छोड्ने प्रवृत्ति वीरेन्द्रनगरमा बढी छ ।’ नगरपालिकाले पशु व्यवस्थापनको लागि भन्दै विनियोजन गरेको पाँच लाख रूपैयाँले वीरेन्द्रनगर १, २ र ३ वडासम्मका एक हजार सात सय गाई र गोरुमा ट्याग लगाइसकिएको गिरीले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाहरूमा करिब ११ हजार पशुहरू रहेका छन् । सडकमा भने तीन सयदेखि पाँच सयको हाराहारीमा छाडा चौपाय रहेको उनले बताए । ‘वीरेन्द्रनगर नगरपालिकाले पहिले आफ्ना वडाहरूमा रहेका गाईगोरुको जन्मदर्ता गर्छ’ उनले थपे ‘लगत्तै छिमेकी पालिकासँग समेत समन्वय गरी यो अभियान सञ्चालन गरिनेछ ।’ उनले वीरेन्द्रनगरका सडकमा रहेको सबै चौपाया नगरभित्रका किसानका नभइ छिमेकी पालिकाबाट समेत आउने भएकोले समन्वय गर्न जरुरी भएको बताए । त्यसको लागि प्रदेश सरकारसँग समेत सहयोगको माग गरेको उनले बताए । सबै चौपायको कानमा ट्याग नलगाएसम्म र छिमेकी पालिकाले समेत यो कामको सुरुवात नगरेसम्म छाडा चौपायको बिगबिगी कम गर्न सक्ने अवस्था नरहेको गिरीको भनाइ छ । नगरभित्रका चौपायाको जन्मदर्ताको लागि के.पी. व्यावसायिक सेवा प्रा.लि.लाई जिम्मा दिइएको उनले बताए ।

के.पी. व्यावसायिक सेवा प्रा.लि. वीरेन्द्रनगरका सञ्चालक कृष्णप्रसाद ढकालले नगरपालिकाको आर्थिक सहयोगमा कामको सुरुवात गरेको बताए । उनका अनुसार वीरेन्द्रनगरमा छाडा चौपायाको बिगबिगीले नागरिकलाई सास्ती हुन थालेपछि करिब ३१ वटा गाईगोरु बटुली गौशालामा राखिएको छ । ‘गौशाला निर्माणका लागि कर्णाली प्रदेश सरकारले १९ लाख अनुदान दिएको छ’ उनले भने ‘चालीस प्रतिशत सरकारले र साठी प्रतिशत व्यवसायीले बजेट खर्च गर्ने शर्तमा गौशाला निर्माण गरिएको हो ।’ बराहताल–८ सुर्खेत, लेकवेशी–१ र वीरेन्द्रनगर–११ मा गौशाला निर्माण गरी ३१ वटा पशु राखिएको उनले बताए ।