सुस्तायो छाउगोठ भत्काउने अभियान

सुर्खेत : सुर्खेत जिल्लामा छाउगोठ भत्काउने अभियान सुस्ताएको छ । गृह मन्त्रालयको निर्देशन पश्चात् केही दिन आक्रामक रूपमा छाउगोठ भत्काइए पनि अहिले अभियान सुस्ताएको हो ।

गृह मन्त्रालयले गत माघ ८ गते छाउगोठ भत्काउने अभियान सुरु गर्नको लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो । गृहको पत्र प्राप्त भएलगत्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका तत्कालीन प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले माघ १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सहितको बैठक राखेर अभियान सुरु गरेका थिए ।

अभियान अन्तर्गत प्रहरी र जनप्रतिनिधिहरूको संयुक्त टोली गाउँ–गाउँ पुगेर गोठ भत्काएको थियो । तर अभियान सुरु भएको महिना दिन नपुग्दै छाउगोठ भत्काउने काम बन्द हुन पुग्यो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले अहिले अभियानकै रूपमा छाउगोठ भत्काउने काम नभएको बताए । उनले हालसम्म जिल्लाभर करिब एक हजार सात सय छाउगोठ भत्काईएको जानकारी समेत दिए । ‘अहिले आक्रामक रूपमा अभियान नै सञ्चालन गरिएको छैन’ उनले भने ‘तर स्थानीय तहहरू र प्रहरी चौकीहरूले भने काम गरिरहेका छन् ।’

सुर्खेतका तीन गाउँपालिकाका छाउगोठ धेरै रहेको तथ्यांक गृह मन्त्रालयको थियो । जस अनुसार पश्चिम सुर्खेतमा रहेका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा प्रशासनले आक्रामक रूपमा अभियान सञ्चालन गरेको हो । कतिपय स्थानमा अभियानको टोली र नागरिकबीच वादविवाद नै भएका थिए । सुरुवातमा जबरजस्ती छाउगोठहरू भत्काइएको भए पनि हाल अभियान सञ्चालनमा रहेको छैन ।

जिल्ला प्रशासनले स्थानीय तहको नेतृत्वमा अभियान जारी रहेको बताए पनि त्यसअनुसारको काम भने भइरहेको छैन । पश्चिम सुर्खेतका जनप्रतिनिधि यतिबेला न छाउगोठ भत्काउन हिँडेका छन् न यस सम्बन्धी कुनै अभियान चलाइएको छ । चौकुने गाउँपालिका सुर्खेतकी उपाध्यक्ष निर्मला रानामगरले पहिलेको जसरी अभियानकै रूपमा छाउगोठ भत्काउन नहिँडेको बताइन् ।

‘हामीहरूले छाउगोठ नै भत्काउने गरी अभियान सञ्चालन गरेका छैनौं’ उनले भनिन् ‘तर चेतनामूलक कार्यक्रम भने सञ्चालन गर्दै आएका छौं ।’ उनका अनुसार चौकुने गाउँपालिकामा करिब एक सय ५० भन्दा बढी छाउगोठ भत्काइएको छ । केही समय आक्रामक अभियान सञ्चालन गरिए पनि प्रभावकारी भने भएको छैन । महिलाहरू महिनावारी हुँदा घरबाहिर बस्न छोडेका छैनन् । राती घरबाहिरै पाल टाँगेर बस्ने र बिहान भएपछि पाल लुकाउने गरिएको समेत पाइएको छ । उपाध्यक्ष राना भन्छिन्, ‘गोठ भत्काएपछि महिलाहरू कहाँ बसेका छन् भन्ने कुराको अनुगमन त गरेकी छैन तर गाउँमा हल्ला छ केही महिलाहरू राती पालमुनी बस्ने र बिहान पाल खोल्ने गरेका छन् रे ।’ उनले प्रहरीको सहयोगमा छाउगोठ भत्काइसकेपछिको महिलाहरूका अवस्थालाई बुझ्ने आश्वासन दिइन् ।

पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्रबहादुर थापा भने छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुने निश्कर्षमा पुगेका छन् । बरु जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा उनको जोड छ । उनले प्रहरी लगाएर छाउगोठ भत्काएर मात्रै उपलब्धि नदेखेको कारण चेतनामूलक कार्यक्रम सञ्चालनमा लागेको बताए । ‘भौतिक संरचना प्रहरी लगाएर भत्काउँदैमा छाउप्रथा अन्त्य हुन्छ जस्तो लागेन’ उनले भने ‘त्यसैले पञ्चपुरी नगरपालिकाले अहिले चेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।’ उनले परिवारका सासु–ससुरा, श्रीमान्–श्रीमती, बावु–आमा र छोरा–छोरी सबैलाई राखेर गोलमेच सम्मेलनको सुरुवात गरेको जानकारी दिए । पञ्चपुरी नगरपालिकामा करिब दुई सय बढी छाउगोठहरू अभियानका क्रममा भत्काइएको उनले बताए ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७६, बिहीबार १८:२८