संघर्षशील लक्ष्मी

                                    लक्ष्मी वि.क.

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतकी लक्ष्मी वि.क. बुवा रघुवीर सुनार र आमा तुलसा सुनारको कोखबाट जन्मिएकी हुन् । वि.सं. २०३२ साल भदौ २१ गते घरकी कान्छी छोरीको रूपमा जन्मिएकी लक्ष्मी विद्यालय उमेरदेखि नै राजनीतिमा सक्रिय थिइन् । कक्षा ८ अध्ययन गर्दा अखिल नेपाल विद्यार्थी संघमा आवद्ध भएकी उनी हाल राजनीतिलाई नै प्रमुख पेसा बनाइरहेकी छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १० की वडा सदस्य तथा वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य समेत रहेकी लक्ष्मी राजनीतिमा महिलाहरूलाई निक्कै धेरै चुनौती रहेको बताउँछिन् । महिलाहरू राजनीतिमा आउनको लागि पहिलो सहयोग परिवारको आवश्यक हुनुपर्ने भए पनि परिवारले सहयोग नगर्दा महिलाहरू पछाडि पर्ने उनको अनुभव छ । पारिवारिक हिंसा समेत महिलाहरूले सहन नहुने बताउने उनले आफ्नो पेसागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्:

विवाहपछि पढाइलाई निरन्तरता

लेकवेशी नगरपालिका–७ गोलखाल्टा सुर्खेतमा मेरो जन्म सामान्य परिवारमा भएको हो । हामी आठ भाइ–बहिनी थियौं । पाँच भाइ र तीन बहिनीमध्ये म कान्छी छोरी हुँ । म भन्दापछि दुईवटा भाइहरू थिए । दिदी र दाइहरूले विद्यालय जाने अवसर पाउनु भएन । त्यो बेलामा विद्यालय जाने भन्ने कुरा त्यति सहज थिएन । तर पनि मैले संघर्ष गरेरै विद्यालय जाने अवसर पाएकी थिएँ ।

बुवा–आमाले मलाई शिक्षक बनाउने ठूलो सपना बोकेर अध्ययन गर्ने अवसर दिनु भएको हो । तर बुवा–आमाको सपना विपरित २०४८ सालमा म निम्न माध्यमिक तह अध्ययन गर्दै गर्दा विवाह बन्धनमा बाधिएँ । विवाह भए लगत्तै छोराछोरी जन्मिए  । कक्षा आठमा पढ्दै गर्दा विवाह गरेकी मैले तीन छोराछोरी जन्मिएपछि एसएलसी पास गरेकी हुँ । अहिले प्लस टू पास समेत गरेकी छु । परिवारमा मेरो जिम्मेवारी ठूलो थियो । तीन छोराछोरीको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी मेरै काँधमा थियो । त्यसैले पनि मैले धेरै संघर्ष गर्नुप¥यो ।

एसएलसी मात्रै पास गरेको मान्छे, भनेजस्तो जागिर नपाइने । घर खर्च र छोराछोरीलाई पढाउँदा लागेको ऋण तिर्न मैले वीरेन्द्रनगरमा भएको घरजग्गा बेचें । त्यसपछि नजिकै ७ धुर जमिन किनेँ । त्यसलाई पनि बेचेँ । विस्तारै मैले जग्गाको व्यवसाय गर्न थालें । जग्गाको व्यवसायबाट आम्दानी बढ्न थालेपछि भने मलाई आर्थिक रूपमा केही राहत भयो । केही समय मैले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत अति सिमान्तकृत समूहका लागि लक्षित तथा दिगो विकास कार्यक्रममा जागिर पनि गर्ने अवसर पाएँ । त्यो बेलामा घरमा छोराछोरीलाई एक्लै छोडेर कार्यक्षेत्र (फिल्ड) जानुपथ्र्यो । तर पनि घरखर्च टार्नलाई जागिर नखाई कामै थिएन । जीवनमा ठूलो संघर्ष गरेकी मलाई आज धेरै सहज छ ।

राजनीतिले सोचमा परिवर्तन

म विवाहपछि केही समय गाउँमा नै (लेकवेशी नगरपालिका १० साटाखानी सुर्खेतमा) कृषि गरेर बसेकी थिएँ । श्रीमान् सोही स्थानमा शिक्षक हुनुहुन्थ्यो । आर्थिक स्थिति समेत राम्रै थियो । हामीहरू केही जमिन खरिद गरी छोराछोरी पढाउने उद्देश्यले लेकवेशीबाट बसाइँ सरी २०६० सालमा वीरेन्द्रनगर आयौं । विद्यालय उमेरदेखि नै राजनीतिमा लागेको भएर मलाई पुनः राजनीति गर्न मन लाग्यो । राजनीतिमा लागेपछि मैले धेरै कुरा सिक्ने अवसर पाएँ । अखिल नेपाल महिला संघ सुर्खेतको सदस्य, समाज जागरण केन्द्र स्याक नेपालको कार्यसमिति सदस्य समेत भएर काम गर्ने अवसर प्राप्त गरेँ । राजनीतिमा लागेपछि पढाइलाई अझै अगाडि बढाउन मन लाग्यो र मैले शिक्षा क्याम्पस सुर्खेतबाट प्लस टू पास गरें ।

राजनीति नै मेरो मुख्य पेसा भएको छ । आर्थिक रूपमा राजनीतिबाट सफल नभए पनि समाजमा अन्यायमा परेकाहरूको आवाज बन्न पाउँदा खुशी लाग्छ । पारिवारिक द्वन्द्व र संघर्षका बीचबाट राजनीतिमा आएकी हुँ । कुनै पनि अवस्थामा यो पेसा छोड्दिन । अहिले मेरो पारिवारिक सम्बन्ध पनि राम्रो छ । आर्थिक अवस्था समेत राम्रै छ । विद्रोह नगरेसम्म अधिकार पाउन सकिन्न भन्ने पाठ जीवनले सिकाएको छ । राजनीतिले नै मेरो जीवन बदलेको हो । सानो छँदा शान्त स्वभावकी म अहिले विद्रोही स्वभावकी भएकी छु । अन्याय नगर्ने र नसहने प्रणसहित राजनीतिमा आजीवन लाग्नेछु ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७६, बुधबार ०५:०१