सरकारको विरोध नगर्न कार्यकर्तालाई निर्देशन

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले सरकार र पार्टीको विरोध नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ । सार्वजनिक रूपमा सरकार र पार्टीविरुद्ध नलाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । प्रदेश कमिटीको तेस्रो बैठकबाट कार्यकर्तालाई यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

केन्द्रीय कमिटीले तय गरेको आचारसंहितालाई प्रत्येक पार्टी कमिटी तथा कार्यकर्ताले अनिवार्य रूपमा पालना गर्ने, पार्टी, सरकार र नेतृत्वका बारेमा नकारात्मक असर पर्नेगरी सार्वजनिक रूपमा प्रस्तुत नहुन प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन गर्ने निर्णय बैठकले गरेको नेकपा कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीले जानकारी दिए । उनले पार्टीको टोेलस्तरको कमिटी निर्माण गर्ने, नेकपा केन्द्रीय कमिटीको गत माघ १५ देखि १९ गतेसम्म आयोजना गरिएका बैठकबाट पारित ‘पार्टी एकता शुद्धीकरण तथा जनसम्बन्ध विस्तार अभियान’लाई जिल्लास्तरमा कार्यान्वयन गराउने लगायतका निर्णय गरेको जानकारी दिए ।

आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशस्तरीय तेस्रो बैठकबाट गरिएको निर्णयहरू सार्वजनिक गरिएको हो । बैठकले २०७६ फागुन महिनाभरी कर्णाली प्रदेशका सबै जिल्लाहरूमा जिल्ला कमिटीका बैठकहरू सम्पन्न गर्ने, जिल्लामा विभिन्न कमिटीका बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया गर्ने, पार्टी सदस्यता तथा संगठित सदस्यको अभिलेख संकलनका लागि पार्टी केन्द्रबाट विशेष परिपत्र–७ मार्फत निर्देशन गरिएको प्रक्रियालाई ध्यानमा राखी तहगत रूपमा प्रभावकारी समूह बनाई परिचालन गर्ने लगायतका निर्णय गरेको बोगटीले बताए ।

उनले सरकारले गरेका कामकारवाहीहरू प्रभावकारी भए÷भएको जानकारी लिन तहगत रूपमा समूह निर्माण गर्ने, जनआन्दोलन, तथा जनयुद्धका सहिद, बेपत्ता पारिएका व्यक्ति, घाइते, अपाङ्गता भएकाहरूको तथ्याङ्क र निजहरूको समग्र अध्ययनका लागि समूह परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए । प्रदेश कमिटीको तेस्रो बैठकले केही प्रस्ताव समेत पारित गरेको अध्यक्ष बोगटीले बताए । पार्टी एकता अधिकांश स्थानीय तहसम्म सम्पन्न भएको र केही स्थानीय तहमा बाँकी रहेकाले आवश्यक छलफल गरिएको र प्रदेश कमिटीको सचिवालयमा विभाग र फाँटहरूको गठनका आवश्यक परामर्श गरी प्रदेश कार्यालयले टुङ्ग्याउने निर्णय समेत गरेको बोगटीले बताए ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष बोगटीले पार्टीको नेतृत्वमा सरकार चलेको भन्दै यसलाई यसैगरी अगाडि बढाउने प्रयास भएको बताए । आगामी दिनमा टोल स्तरमा पार्टीका कमिटी गठनका लागि आफूहरू लागेको उनले बताए । प्रदेश सरकारका काम कारवाहीलाई शीर्ष नेताहरूले नजिकबाट निर्देशन दिएको भन्दै बोगटीले जनवर्गीय संगठन निर्माणमा आफूहरू लागिपरेको बताए ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७६, सोमबार ०५:०५