पहिचान लुकाउन बाध्य छन् तेस्रोलिङ्गी

सुर्खेत : वीरेन्द्रनगर–१ सुर्खेतका बादल नेपाली (नाम परिवर्तन) सानैदेखि महिलाको पहिरन गर्न मन पराउँथे । उनलाई बुवा–आमाले छोरा भनेर बोलाएको मन पर्दैनथ्यो । जन्मँदा छोरा भएर जन्मिए पनि हुर्कने क्रममा उनी छोरीको स्वभाव देखाउन थाले ।

केही समय त उनलाई आफू के हुँ भन्नेसम्म पनि जानकारी थिएन । विद्यालय पढ्दा उनलाई केटा साथीहरूसँग भन्दा केटी साथीहरूसँग संगत गर्न मनपथ्र्यो । बादलको व्यवहार देखेर साथीहरूले उनलाई ‘हिजडा’ भन्न थाले । ‘साथीहरूको सोही व्यवहारले म विद्यालय समेत जान छोडें’ उनले भने ‘छिमेकीहरूले समेत हिजडा भन्न थालेपछि मलाई मानसिक तनाव भयो ।’ साथीभाइ र समाजको अन्यहरूले गर्ने व्यवहारले उनलाई यतिसम्म तनाव भयो कि एकपल्ट आत्महत्याको प्रयास समेत गरे ।

उनी १४ वर्षको उमेरमा निलहिरा समाजसँग जोडिए । निलहिरा समाज सुर्खेतसँग जोडिएपछि बल्ल आफ्नो पहिचान तेस्रोलिङ्गी भएको थाहा पाएको उनी बताउँछन् । ‘मैले मेरो पहिचान त थाहा पाएँ तर घरमा भन्न सकिनँ’ उनले थपे, ‘समाजमा मेरै कारणले परिवारले खेप्नुपरेको अपहेलनाले म अहिलेसम्म पनि पहिचान लुकाउन बाध्य छु ।’

दुईवटा छोराका बावु उनी हाल निलहिरा समाज सुर्खेतमा कार्यरत छन् । राज्यले संविधानमा समानताका कुरा गरे पनि आफूहरूले समान अधिकार राज्यबाट नपाएको गुनासो उनले गरे । समाजमा खुलेर हिँड्ने वातावरण तेस्रोलिङ्गीको लागि नभएको उनले बताए । बादल मात्रै होइन सुर्खेतमा उनीजस्ता अन्य व्यक्तिहरू पनि छन् जो समाजमा खुलेर हिँड्न सकेका छैनन् । सुर्खेत जिल्लामा १५ जना भन्दा बढी तेस्रोलिङ्गीहरू निलहिरा समाजको सम्पर्कमा आए पनि खुल्न भने नसकेको उनले जानकारी दिए । संस्थासँग नजोडिएका अझै धेरै तेस्रोलिङ्गीहरू यौनिकता लुकाएर बसेको उनले बताए ।

सल्यानका कमल (नाम परिवर्तन) पनि तेस्रोलिङ्गी महिला हुन् । निलहिरा समाज सुर्खेतमा कार्यरत उनी पनि कार्यक्षेत्रमा खुले पनि घरमा भने खुलेका छैनन् । घरमा उनको पहिचान दुई छोरीको बुवा नै हो । ‘बाटोमा हिँड्न समेत अप्ठ्यारो हुन्छ’ उनले भने ‘बाटोमा हिँड्दा धेरैले जिस्काउँछन् ।’ यात्रा गर्दा समेत सवारी चालक र यात्रुहरूले दुव्र्यवहार गर्ने उनले बताए । नेपालमा अझै पनि तेस्रोलिङ्गीहरूको पहिचान नभएको कमलले गुनासो गरे । नागरिकतामा महिला र पुरुष राखिए पनि अन्यको स्थान अझै नभएकोमा उनी दुःखी छन् ।

आइतवार यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी तेस्रो लिङ्गीहरूले समाजमा अझै पनि खुलेर हिँड्ने वातावरण नभएको बताएका छन् । उनीहरूले राज्यबाट पाउनुपर्ने अधिकार समेत नपाएको गुनासो गरेका थिए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ काठमाडौंका कार्यक्रम संयोजक सिम्रन शेरचनले देशभर करिब पाँच लाख जति तेस्रोलिङ्गीहरू रहेको जानकारी दिइन् । उनले वैवाहिक समानताको कानुन अझै पनि नेपालमा नबनेको कारण तेस्रोलिङ्गीहरू एचआईभीको संक्रमणमा फस्ने गरेको बताइन् । ‘वैवाहिक कानुन नबनेको कारण धेरै तेस्रोलिङ्गीहरूले यौनसाथी बनाउँछन्’ उनले भनिन् ‘जसले गर्दा एचआईभीको संक्रमण हुने डर बढी हुन्छ ।’ उनले संविधानको मौलिक हक धारा १८ मा समानताको हकको व्यवस्था भए पनि कार्यान्वयन भने नभएको बताइन् । साथै राज्यले तेस्रो लिङ्गीहरूलाई पनि समान अधिकार दिनुपर्नेमा उनको जोड थियो ।