विद्यालयस्तरीय रनिङ्गशिल्ड सम्पन्न
सुर्खेत : आधारभूत तहस्तरीय बराहताल रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भेरी माध्यमिक विद्यालय बराहताल–२ रानीघाटमा आइतवार उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको एक सय मिटर दौड, चम्चा दौड, हाइजम्प, अंक दौड, पढाइ सीप, अनुलेखन, कम्प्युटर टाइपिङ्ग, दुना दौड लगायतका १६ वटा खेलमा प्रतियोगिता भएको विद्यालयका शिक्षक छविकुमार कँडेलले जानकारी दिइन् । उनले शनिवारदेखि सुरु भएको प्रतियोगितामा प्राथमिक विद्यालयतर्फ सरस्वती माध्यमिक विद्यालय चेपाङ्ग प्रथम भएको छ ।
यस्तै यज्ञज्योति आधारभूत विद्यालय लाम्काने द्वितीय, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हल्देखर्क तृतीय तथा सरस्वती माध्यमिक विद्यालय सिरूपाटा र मा.वि. रक्सेनीले सान्त्वना स्थान हासिल गरेका छन् । त्यस्तै निम्न माध्यमिकतर्फ सरस्वती मा.वि. चेपाङ्ग प्रथम, सरस्वती आधारभूत माध्यमिक विद्यालय कुनाथरी द्वितीय भएका छन् । जनजागृति मा.वि. दमार, जनज्योति मा.वि. बड्डिचौर र सूर्यज्योति मा.वि. लामाखालीले संयुक्त रूपमा तृतीय हुँदा विजयश्वरी मा.वि. हरिहरपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय श्रीचौर र सरस्वती आधारभूत मा.वि. साजघाट सान्त्वना भएका छन् ।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शोभा शर्मा, प्रमुख प्रशासकीय अधिृकत नेत्रराज गिरी, शिक्षा शाखा प्रमुख डम्बरकुमारी रोकायको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पुरीले अध्यक्षता गरेका थिए । प्रतियोगितामा गाउँपालिकाका प्राथमिक र आधारभूत तहका विद्यालयहरूले भाग लिएका थिए । पढाइ मात्रै नभइ विद्यार्थीलाई खेलका माध्यमबाट अनुशासित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढाले बताए ।
प्रकाशित मितिः १२ फाल्गुन २०७६, सोमबार ०५:०१
साझा बिसौनी ।