‘बाँके–बर्दिया कर्णालीमा गाभ्ने कुरा भएकै छैन’

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न तत्कालै सम्भव नहुने बताएका छन् । बुधवार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. ५ का दुई वटा जिल्लालाई कर्णालीमा गाभ्ने कुरा अहिले हल्ला मात्रै भएको बताएका हुन् । पछिल्लो समय यी दुई जिल्लालाई कर्णालीमा गाभ्ने तयारी भएको हल्ला चलिरहेको छ ।

उनले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने संकेत भने गरेका छन् । ‘प्रदेशको बनावट अहिले जस्तो छ । सधैंभरी त्यस्तै हुँदैन’ दाहालले भने, ‘आवश्यकता र जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन् ।’ तर अहिले नै यस विषयमा आधिकारिक छलफल नभएको प्रष्ट पारे । उनले थपे, ‘प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो । अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन ।’

यसैगरी अध्यक्ष प्रचण्डले संघीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेष रूपले सम्बोधन गर्नुपर्ने बताएका छन् । पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उनले यस विषयमा पार्टीले संघीय सरकारलाई आवश्यक निर्देशन दिने बताए ।

प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा उनले संघीय निजामती ऐन बनेपछि प्रदेशलाई यस सम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा राखे । उनले भने, ‘जतिसक्दो छिटो निजामती ऐन बनाई प्रदेशलाई कर्मचारी नियुक्तिको अधिकार दिएमा कर्मचारीको समस्या समाधान हुन्छ ।’ सुर्खेत विमानस्थल विस्तार गर्ने कार्यमा आफूले पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित अध्यक्ष प्रचण्ड मंगलवार सुर्खेत आएका थिए । प्रशिक्षणमा शीर्ष नेताहरूले पार्टी एकतालाई बलियो बनाएर संगठन विस्तारमा लाग्न निर्देशन दिएका थिए ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७६, बिहीबार ०५:०४