अर्गानिक कृषि सम्मेलन सुरु

सुर्खेत : प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन–२०७६ सुरु भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन सुरु भएको हो । सम्मेलनमा अर्गानिक कृषि प्रविधिहरूको अवलम्बन, अवसर, चुनौती, नीति तथा भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।

सम्मेलनको पहिलो दिन बुधवार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कर्णालीको पृष्ठभूमि, कृषि तथा सम्बन्धित नीतिहरूबारे जानकारी गराएका थिए । यस्तै भारतका कृषि, पर्यावरणीयका लेखक भरत मन्सता, सुकदेव सिंह र मणिराम पुनियाले कार्यपत्र प्रस्तुत गरेका छन् । साथै नेपालका अर्गाानिक विज्ञ छवि पौडेल, लिवर्डका पीताम्बर श्रेष्ठ, मन्त्रालयका अधिकृत धनबहादुर कठायत, प्रकृति मानव केन्द्रित जनअभियानका प्रतिनिधि माया गौतम केसी र विन्दुराज सापकोटाले समेत आफ्नो अनुभव तथा कार्यपत्र प्रस्तुत गरेका छन् ।

दोस्रो दिन भारतका अर्गानिक अभियन्ता तथा विज्ञ घनश्याम डेमोक्रेट, नेपालका अभियन्ता तथा विज्ञ उद्धव अधिकारी, डिलाराम भण्डारी, डा. भानु पोखरेल, कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, विज्ञ रामकृष्ण श्रेष्ठ, अर्गानिक विज्ञ डा. कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उप–सचिव हरिप्रसाद पण्डितले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, पूर्व गृहमन्त्री जनार्दन शर्मा, प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरू लगायतको
सहभागिता रहेको छ ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७६, बिहीबार ०५:०२