आरनले धानेको जीवन

                                           नरे कसेरा

जुनीचाँदे गाउँपालिका–५ जाजरकोटका नरे कसेरा वीरेन्द्रनगर–११ चारकुनेमा बस्छन् । उनी वि.सं. २०५२ सालदेखि आरन पेसामा संलग्न छन् । उनलाई सानैदेखि बुवाले गरेको पेसाप्रतिनै रुचि थियो । सानो छँदा आरनमा बुवालाई सघाउँथे । गाउँमै बसेर बुवाले जस्तै आरन पेसा गर्ने र दैनिकी गुजार्ने सोचमा बसेका नरे २०४६ सालमा कुष्ठरोगले प्रभावित भएपछि भने पुख्र्यौली ठाउँ छोडी सुर्खेत आए ।

सुर्खेत आएर कुष्ठरोगको उपचार गराएपछि उनलाई गाउँ फर्किन मन लागेन । यतै दुःखजिलो गरेर बस्ने सोच बनाए । सुर्खेतमा आरन पेसामा जम्न उनलाई सुरुमा केही असजिलो त भयो । तर पनि हिम्मत हारेनन् ।

दैनिकी टार्ने अन्य पेसाको खोजीमा उनी नहिँडेका पनि होइनन् । तर कुष्ठरोगको कारण शारीरिक समस्या भएकोले उनलाई बुवाले गर्दै आएको आरन पेसानै उत्तम लाग्यो । अन्ततः उनले वीरेन्द्रनगर–१० नयाँगाउँमा बसेर आरन गर्न थाले ।

विगत २४ वर्षदेखि आरन पेसा गर्दै आएका नरेको जीवन अहिले सहज भएको छ । भन्छन्, ‘मन भए जे पनि गर्न सकिँदो रै’छ ।’ उनै नरे कसेराले हाम्रा सहकर्मी
सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटे:

बुवाले गर्दै आएको पेसा गर्ने बाध्यता थियो

म सामान्य परिवारमा जन्मिएको मान्छे । बुवा–बाजेले गर्दै आएको पेसा गर्ने बाहेकको विकल्प मेरो जीवनमा थिएन । वि.सं. २०१५ साल वैशाख १० गते बुवा मानसिं कसेरा र आमा प्याउली कसेराको कोखबाट जन्मिएको हुँ । हामी घरमा ६ भाइ–बहिनी थियौं । म भने घरको माइलो छोरा ।

त्यो बेलामा पढाउने चलन पनि त्यति थिएन । त्यसमा पनि गाउँघरमा हामी दलितका छोराछोरीले पढ्ने कुरा त चरीको दुध देख्नु जस्तै थियो । त्यो बेलामा बुवाले पनि आरन पेसानै गर्नुहुन्थ्यो । तर नगद कारोबार कहिल्यै भएन । काम गरे वापत अन्न बाली ल्याएर गर्जो टार्ने प्रचलन थियो ।

मलाई पनि बुवाले गर्दै आएको पेसा अपनाउने बाहेकको विकल्प थिएन । त्यसैले त्यही पेसा नै अपनाउने सोचमा थिएँ । तर विडम्बना वि.सं. २०४६ सालमा मलाई कुष्ठरोग लाग्यो । उपचारको लागि सुर्खेत आइयो । त्यसपछि फर्केर गाउँ जान मन लागेन । गाउँघरमा कुष्ठरोगलाई कोडी भन्ने प्रचलन असाध्यै धेरै थियो । सायद जाजरकोटमा मेरो रोगलाई लिएर समाजमा बस्न सक्ने अवस्था हुँदैनथ्यो होला । मैले त्यो सम्भावित समाजको हेराइलाई अनुमान गरी सुर्खेतमा नै बस्ने निर्णय गरें । हाल वीरेन्द्रनगर–१० नयाँगाउँमा आरन गर्दै आएको छु । दिनमा तीन सय जति नगद र अन्य बालीघरे (अन्न) मा काम गर्दै आएको छु । चार जनाको परिवार छ । वर्षमा दश मुरीभन्दा बढी धान आउँछ । गर्जो टरेकै छ । म मात्रै होइन परिवार नै खुशी छ ।

पुख्र्याैली पेसामा फर्कन पाउँदा खुशी लाग्छ

मलाई कुष्ठरोग लागेपछि यो पेसामा फर्कन पाउँछु भन्ने सोचेको थिएन । सुरुमा सकिँदैन कि भन्ने लाग्यो । काम गर्न नसकेर परिवारलाई भोकै मार्न पनि नहुने । अहिले पनि हातका औलाहरू बाङ्गा छन् । तर मैले साहस गरें । सुरुमा त केही गाह्रो पनि भयो । विस्तारै सहज भयो । अहिले यही पेसाको कारण हातमुख जोड्न सहज भएको छ ।

गर्नको लागि त थुप्रै पेसाहरू छन् । तर मेरो योग्यता, शारीरिक समस्या र क्षमताले यहि पेसा सहज भएको छ । पुख्र्यौली पेसा पनि भएकोले अनुभव पनि छ । मैले आँसी, बञ्चरा, कुटा, कोदाला लगायतका कृषि औजारहरू बनाउँदै आएको छु । श्रीमतीले घरमा बाख्रापालन समेत गर्दै आएकी छन् । छोरा भारत जान्छ, बुहारी घरमै बस्छिन् ।

कुष्ठरोग लागेकाहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । धेरै बिरामीहरू केही काम गर्न नसकी घरमै बस्नुपरेको अवस्था पनि छ । तर मैले समयमै उपचार गराएको कारण निको भइ पुनः काममा फर्किन पाएको छु । मेरो परिवारको मुख्य आयश्रोत नै मेरो आरन पेसा बनेको छ । त्यसमा मलाई एकदमै खुशी लाग्छ । दिनभरी कमाएको नगद पैसाले नुनतेल पुगेको छ । बालीघरेमा काम गरेको अन्नले खान पुगेको छ । जुन पेसाले मेरो परिवारको पेट भरेको छ म कसरी यो पेसालाई नराम्रो भनौं । मेरो लागि मेरो पेसानै सबै थोक हो । सक्ने बेलासम्म यही पेसा गरेरै जीवन धान्ने हो ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७६, बुधबार ०५:०६