शीर्ष नेताको प्रशिक्षणले कार्यकर्तामा उत्साह
सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतका शीर्ष नेताहरूले प्रशिक्षण दिएपछि कर्णालीका कार्यकर्ता उत्साहित भएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
प्रशिक्षणले नेता र कार्यकर्तामा रहेको अन्यौलता हटेको प्रतिक्रिया सहभागीहरूले दिएका छन् । दुईवटा पार्टीको समायोजन भएसँगै रहेको अन्यौलता तल्लो तहसम्म नै प्रशिक्षणबाट हटेको नेकपा कर्णाली प्रदेशका सदस्य अमृत बिसीले बताए । उनले नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीबीच भएको एकतापछि नेता र कार्यकर्ताबीच ठूलो अन्यौलता रहेको भन्दै यो अन्यौलता हटेको बताए । ‘जुन उद्देश्यका साथ पार्टी एकता भएको थियो त्यो सम्भव हुँदैन कि भन्ने अन्यौलता कार्यकर्ताहरूमा थियो’ उनले भने ‘पार्टीका शीर्ष नेताहरूले दिएको प्रशिक्षणबाट अब ढुक्कले काम गर्ने वातावरण मिलेको छ ।’ अब जस्तोसुकै परिस्थितिमा पनि पार्टी बलियो हुने र उत्साहका साथ पार्टीलाई थप सशक्त बनाउँदै लैजाने उनले बताए । जनप्रतिनिधि कस्तो अनुशासनमा बस्ने र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने कुरामा समेत ध्यान दिनेगरी प्रशिक्षण भएको जानकारी बिसीले दिए । तल्लो तहसम्म पार्टी एकतालाई समेत प्रशिक्षणले सहयोग गर्ने उनले बताए ।
नेकपा नेतृ एवम् प्रतिनिधिसभा सदस्य पार्वती विसुन्केले समेत केन्द्रका शीर्ष नेताहरूले पार्टीको एकता गरेसँगै लामो समय नेता कार्यकर्ताहरूले प्रशिक्षण नपाएकोले पनि केही अन्यौलता भएको बताइन् । उनले अब यो प्रशिक्षणले कार्यकर्ताहरूलाई ढुक्कले जनस्तरसम्म जाने वातावरण बनेको बताइन् । नेता र कार्यकर्ता नीति र विधि भन्दा बाहिर जानु हुँदैन भन्ने किसिमले प्रशिक्षण दिइएको उनले जनाइन् । अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण सँगसँगै कामको समेत बाँडफाँट भएको उनले जानकारी दिए ।
बिसुन्केका अनुसार फागुनको महिनाभरी सदस्यता नवीकरणमा लाग्ने तथा चैत्र, वैशाख र जेठ महिनामा पार्टीमा नयाँ सदस्यता दर्ता गर्ने र जनस्तरमा घरदैलो कार्यक्रम समेत आयोजना गर्ने गरी पार्टीले योजना बनाएको उनले बताइन् । ‘सरकारले गरेका राम्रा कामहरू जनतालाई जानकारी दिने समेत कार्यकर्ताको काम हो’ उनले भनिन् ‘सरकारप्रति जनाताका अपेक्षालाई समेत सुन्ने गरी निर्देशन भएको छ ।’ कर्णालीको समृद्धिको लागि विशेष खालका कार्यक्रम हुनुपर्ने कार्यकर्ताहरूको मागलाई समेत शीर्ष नेताहरूले सुनुवाइ गरेको कारण थप उर्जा मिलेको उनले बताइन् । बिसुन्केले केही स्थानीय तहहरूमा संगठनहरूको एकता समेत नभइसकेको अवस्थामा अब एकताको बाटो खुलेको बताइन् ।
त्यस्तै वीरेन्द्रनगर नगर कमिटीका संयोजक गंगाराम तिमिल्सिनाले समेत एकता पछाडिको यो पहिलो प्रशिक्षण भएकोले काम गर्ने थप उर्जा मिलेको बताए । उनले पहिले केही अन्यौलताको बीच पनि काम गर्दै आएको भन्दै प्रशिक्षण पछि भने ढुक्कले काम गर्ने वातावरण मिलेको बताए । ‘पार्टीले निर्धारण गरेको नीतिमा सबैले टेक्नुपर्छ’ उनले भने ‘नीति र विधिभन्दा बाहिर नजानको लागि निर्देशन समेत भएको छ ।’ तल्लो तहमा जाने उत्साह बढेको समेत उनले बताए । यो प्रशिक्षणले जनतामा नयाँ रक्तसञ्चार पैदा गरेको तिमिल्सिनाको टिप्पणी थियो ।
यसैबीच प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकताले विपक्षी डराएको बताए । उनले पार्टी एकताकाबीच पनि धेरै प्रलोभन र धम्की आएको भन्दै कुनै पनि हालतमा आफूहरूले जनताको सपनालाई मर्न नदिएको बताए । ‘पार्टीलाई धरापमा राख्ने गुट नै हो’ उनले भने ‘यसले कसैलाई पनि फाइदा गर्दैन, गुटको राजनीतिभन्दा माथि उठेर काम गर्न जरुरी छ ।’ अध्यक्ष दाहालले केन्द्रमा दुई अध्यक्षबीच कुनै समस्या नरहेको भन्दै आपसी छलफलबाट कामको बाँडफाँट भएकोे बताए । एकजनाले सरकार र एकजनाले पार्टी हेर्ने गरी कामको बाँडफाँट भएको उनले बताए । प्रशिक्षण कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेताहरू जनार्दन शर्मा, यामलाल कँडेल लगायतले सम्बोधन गरेका थिए भने कर्णाली प्रदेशभरका तीन सय बढी अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ७ फाल्गुन २०७६, बुधबार ०५:०५
साझा बिसौनी ।