नियम विपरितका पसलमा शिल

सुर्खेत : नियम विपरित सञ्चालन गरेको भन्दै गुर्भाकोट नगरपालिकास्थित एक पानी उद्योगलाई शिल गरिएको छ । प्रशोधित पानी सम्बन्धी निर्देशिका बमोजिम सञ्चालन नभएको पाइएपछि एम.के. प्रशोधित पानी उद्योग मेहेलकुनाको उद्योग शिल गरिएको हो ।

मंगलवार बजार अनुगमनमा गएको टोलीले बोतल पानी उत्पादनमा रोक लगाइएको जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापाले जानकारी दिए । कार्यालयको नेतृत्वमा केही दिनदेखि बजार अनुगमनलाई तीव्र पारिएको छ । अनुगमन टोलीले खाद्य, खुद्रा, चिया–नास्ता तथा मिठाइ पसल र उद्योगहरूको समेत अनुगमन गरेको छ । विगतमा जस्तो म्याद नाघेका सामानहरू नभेटिए पनि पसलहरूले प्रमाण–पत्र पसलमा नराखेको तथा उद्योगहरूले मापदण्ड तथा प्रक्रिया पूरा नगरी उद्योग सञ्चालन गरेको पाइएको टोलीले जनाएको छ । अनुगमनका क्रममा सफल फूड्स एण्ड वेकरी उद्योगले अनुज्ञा–पत्र नै नलिइ उत्पादन तथा बिक्री वितरण गरेकाले उक्त उद्योगको कारोबारमा रोक लगाइएको छ भने खजुरा डेरी उद्योगको बाहिरी वातावरण उद्योगको लागि उपयुक्त नभएको तथा दुग्ध वस्तु उत्पादन निर्देशिका बमोजिम नपाइएकोले उत्पादनमा रोक लगाइएको छ ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७६, बुधबार ०५:०१