पूर्व सभामुख महरालाई सफाइ

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमवार आएको फैसलामा महराले सफाइ पाएका हुन् । आइतवार नै फैसला हुने भनिए पनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमवार गरिएको फैसला महराको पक्षमा आएको हो । जिल्ला अदालत काठमाडौंमा आइतवारै दुवै पक्षको बहस सकिएको थियो । तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा थिए ।

अदालतबाट सफाइ पाएपछि महरा कारागारबाट सोमवार नै रिहा भएका छन् । डिल्लीबजार कारागाबाट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका थिए । उनलाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर निवास पु¥याएको थियो ।
महराले कारागारबाट छुट्नुअघि छोटो सम्बोधन पनि गरे । उनले सम्बोधनका क्रममा आफूले यहाँ रहुञ्जेल पारिवारिक वातावरण पाएको बताएका थिए । ‘म यहाँ कारागार १०३ दिन बसें । एकदमै राम्रो वातावरण पाएँ’, उनले भने, ‘कैदीहरूसँग पनि पारिवारिक सम्बन्ध भयो । बाहिर गएर पनि कैदीहरूलाई सकेको सहयोग गर्छु । सबैलाई धन्यवाद ।’

प्रकाशित मितिः   ६ फाल्गुन २०७६, मंगलवार ०५:०७