कर्णाली एक्सपो आजदेखि

सुर्खेत : दोस्रो कर्णाली एक्सपो (महोत्सव) आज (मंगलवार)देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । ‘समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारः अर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले आज दिउँसो एक बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आयोजक सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतका अनुसार महोत्सवको सबै तयारी पूरा भएको छ । मूल आयोजक समितिका संयोजक समेत रहेका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामूहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताए । विभिन्न उद्योग तथा उद्यमीहरू, कृषक तथा कृषि उत्पादनहरूको प्रचार–प्रसार एवम् व्यापार प्रवद्र्धन गरिने उनले जनाए । पाँच सय व्यावसायिक स्टलहरू रहने महोत्सवमा ८० वटा स्टल कृषिका राखिने छन् । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरूले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरूको प्रदर्शनी गरिनेछ ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७६, मंगलवार ०५:०६