खेलकुदका लागि पूर्वाधार अभाव

सुर्खेत : दुई वर्षपछि कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । २०७९ सालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भइसकेको छ । तर उक्त प्रतियोगिता सञ्चालन गर्नका लागि पूर्वाधार चुनौती बनेको छ । तीन दर्जन बढी खेलहरू समावेश गरिएको प्रतियोगिता गर्न पर्याप्त संरचना र पूर्वाधार चाहिन्छ । तर कर्णालीमा अहिले सामान्य पूर्वाधारकै अभाव छ । आवश्यक संरचना निर्माणका लागि अहिलेसम्म कुनै पहल समेत चालिएको छैन । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने उक्त खेलकुद प्रतियोगिताको लागि संरचना नहुँदा समस्या भएकोे कर्णाली प्रदेश खेलकुद परिषद्का प्रशिक्षण प्रमुख प्रदिपकुमार राईले जानकारी दिए । उनले अहिलेदेखि नै संरचना निर्माणको काम नगर्ने हो भने पछि थप समस्या हुने बताए ।

संरचना निर्माणका लागि भनेर बजेट पनि विनियोजन गरिएको छ । तर छुट्याइएको बजेट पर्याप्त छैन । खेलकुद प्रतियोगिताका लागि संरचना निर्माण गर्न भनेर सुर्खेत जिल्लालाई दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यसबाहेक प्रदेशका अन्य सबै जिल्लाका लागि ५०–५० लाख रकम राष्ट्रिय खेलकुद परिषद्ले विनियोजन गरेको राईले जानकारी दिए । तर यो बजेट पनि अपुग हुने उनी बताउँछन् । संरचना निर्माणमै अरबौं रूपैयाँ लाग्ने उनले बताए ।

यता कर्णाली प्रदेश सरकारले भने राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि चाहिने पूर्वाधार निर्माणमा चासो देखाएको छैन । यद्यपि खेलकुदका लागि भनेर हरेक वर्ष बजेट विनियोजन हुन्छ । तर उक्त बजेट पनि खर्च हुन नसकेर फ्रिज हुँदै आएको छ । ‘कर्णाली प्रदेश सरकारले समेत खेलकुदका लागि बजेट विनियोजन प्रत्येक वर्ष गर्दै आएको छ’ राईले भने ‘तर कानुन अभावका कारण उक्त बजेट फ्रिज हुँदै गएको छ ।’

प्रदेशले खेलकुद सम्बन्धी कानुन बनाइसकेको भए पनि संघीय कानुन नबन्दा कार्यान्वयन हुन सकेको छैन । कर्णाली प्रदेश सरकारले प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरे पनि संघमा खेलकुद सम्बन्धी कानुन नबन्दा उक्त विधेयक बन्धक भएको हो । बजेट र कानुनी अड्चनका कारण पूर्वाधार निर्माणमा लगानी हुन सकेको छैन ।

खेलकुद राज्यको चिनारी भएको भन्दै राइले कर्णाली प्रदेशले पनि खेलका माध्यमबाट आफूलाई चिनाउने अवसर भएको बताए । जिल्लास्तरका सामान्य खेलकुद प्रतियोगिताका लागि केही संरचना निर्माण भए पनि अधिकांश खेलकुदका लागि कर्णालीमा संरचना नहुँदा समस्या भएको उनले बताए । ‘कर्णालीमा खेलकुदका थुप्रै अवसर छन्’ उनले थपे ‘तर संरचना छैनन् ।’ स्थानीय तथा प्रदेश सरकारले खेलकुदका संरचना निर्माणमा पहल गर्न सके कर्णालीले पनि विश्वमा नाम फैलाउन सक्ने उनले बताए । प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भए पनि कर्णालीमा भने संरचना अभावका कारण धेरै समस्या भएको राइले बताए । संघीयता अनुसार खेलकुद ऐन समेत पारित नभएकोले समस्या थप जटिल भएको उनले बताए ।

यसअघि पनि कर्णालीमा पूर्वाधार अभावकै कारण राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भनिए पनि पूर्वाधार÷संरचना नभएको कारण रोकिएको राइले जानकारी दिए । एक पटक फेरि पनि कर्णालीलाई अवसर आएको भन्दै उनले सबै मिलेर यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । आगामी २०७९ सालमा हुने दशौं प्रतियोगिता जसरी पनि सफल पार्नको लागि राष्ट्रिय खेलकुद परिषद् नै लागेको उनले बताए । परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल समेत कर्णालीमा आएर पूर्वाधारहरूको अवलोकन गरेका थिए । गत साउनदेखि समितिका पदाधिकारीहरूको पदावधि समेत सकिएको र नयाँ ऐन नबनेको कारण समिति पुनर्गठन समेत हुन नसकेको राईले जानकारी दिए ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७६, मंगलवार ०५:०८