विवादले नगरपालिकाको काम प्रभावित

 

जुम्ला : चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल र उप–प्रमुख अप्सरादेवी न्यौपाने महतबीच विवाद बढेपछि नगरपालिको काम नै प्रभावित भएको छ । उनीहरू एक–अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएपछि नगर कार्यपालिकाको बैठक नै अस्तव्यस्त बनेको छ ।

गत मंगलवार उप–प्रमुख महतले प्रमुख सेजुवालका कारण विकास निर्माणमा अनियमितता भएको भन्दै प्रेस विज्ञप्ती निकालेकी थिइन् । त्यसपछि प्रमुख सेजुवालले पनि बिहीवार पत्रकार सम्मेलन गरेर उप–प्रमुखको असहयोगका कारण लगानी सम्मेलन हुन नसकेको बताएकी थिइन् । सम्मेलनमार्फत नगर समृद्धिको आशा गरिए पनि उप–प्रमुखले असहयोग गर्दा लगानी सम्मेलन हुन नसकेको उनले दाबी गरेकी हुन् । उप–प्रमुखको असहयोगका कारण लगानी सम्मेलन अन्तिम चरणमा स्थगित गर्न बाध्य भएको प्रमुख सेजुवालको भनाई थियो ।

महतले अनियमितता गरेको आरोप लगाए पनि प्रमुख सेजुवालले आरोप निराधार भएको भन्दै खण्डन गरेकी छिन् । उनले नगरवासीका नाममा ध्यानाकर्षण–पत्र जारी गर्दै न्यायिक समितिको काम–कारवाहीप्रति कुनै हस्तक्षेप नभएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५३(२) बमोजिम न्यायिक समितिको कामको वार्षिक विवरण प्रमुख समक्ष उप–प्रमुख न्यौपानेले अहिलेसम्म पेश नगरेको बताइन् ।

उप–प्रमुख न्यौपानेले सोलार वितरकलाई नगर प्रमुख सेजुवालले बचाउन खोजेको र भण्डारीबाडाको सडकका बारेमा परेको उजुरी प्रभावित पार्न खाजेको आरोप लगाएकी छिन् । तर प्रमुख सेजुवालले वैकल्पिक उर्जाबाट सोलार वितरणका क्रममा नागरिकले पाउने अनुदान रकम वितरकबाट फिर्ता भइसकेको, भण्डारीबाडा सडकका सम्बन्धमा न्यायिक समितिले गरेको निर्णयप्रति प्रमुखबाट कुनै हस्तक्षेप नभएको सफाइ पेश गरेकी छिन् ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७६, सोमबार ०५:०५