प्रदेशसभा ‘विजनेश’ विहीन

सुर्खेत : कर्णाली प्रदेशसभाको शनिवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले संसद्को मर्यादालाई ध्यानमा राख्न सचेत गराए । बैठक नियमित नभएको र प्रदेशसभाका सदस्यहरूको घट्दो उपस्थितिप्रति उनको संकेत थियो । उनले मन लागेको बेला बैठक बोलाउने र मन नलाग्दा संसद् नै स्थगित गरिदिने प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका थिए ।

नेता शाहीले भनेजस्तै कर्णाली प्रदेशसभाको सञ्चालन व्यवस्थित रूपमा हुन सकिरहेको छैन । यसको पछिल्लो उदाहरण हो निकै लामो समयपछि आह्वान गरिएको हिउँदे अधिवेशनका बैठकहरू नियमित सञ्चालन नहुनु । शाहीले गत माघ २४ गते बसेको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि नियमित बैठक सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । तर पहिलो बैठक बसेर एक साताका लागि संसद् स्थगित गरियो । फागुन १ गतेका लागि बोलाइएको दोस्रो बैठक बस्दै नबसी स्थगित भयो । विभिन्न कार्यक्रमका लागि जिल्लाबाहिर रहेका प्रदेशसभा सदस्यहरू बैठकमा उपस्थिति हुन नसक्ने भएपछि अघिल्लो दिन नै संसद् सचिवालयले बैठक स्थगित गरिएको सूचना जारी गरेको थियो । बैठकमा गणपूरक संख्या नपुग्ने भएपछि स्थगित गरिएको सभामुख राजबहादुर शाहीको भनाइ थियो ।

स्थगित भएको दोस्रो बैठक फागुन ३ गते बस्यो । उक्त बैठकमा पनि प्रतिपक्षी नेता शाहीले सुरुवातमै पहिलो बैठकमाजस्तै संसद् नियमित गर्नुपर्ने धारणा राखे । संसद्प्रति सांसदहरूको बेवास्ताको आलोचना गरे । ‘संसद्मा आउन पनि हामीलाई अल्छी लागिरहेको जस्तो भान भइरहेको छ’ शाहीले भने, ‘४० जनाको संख्या त्यो पनि घट्दै घट्दै गइरहेको छ ।’ साथै शाहीले संसद्को मर्यादालाई ख्याल गर्न समेत सुझाव दिए । उनले थपे, ‘हामी यस्तो अवस्थामा पुग्यौं कि जतिबेला मन लाग्यो खोल्दिन्छौं, लागेन भने बन्द गरिदिन्छौं । जसले गर्दा संसद्को मर्यादा रहन्छ कि रहँदैन भन्ने कुरा सोच्नुपर्ने भएको छ ।’

पहिलो बैठकको एक सातापछि मात्रै बसेको दोस्रो बैठकबाट तेस्रो बैठकको मिति थप दुई सातापछि तोकिएको छ । शनिवारको बैठकमा सभामुख राजबहादुर शाहीले फागुन १८ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । निकै ढिलो गरी सुरु भएको हिउँदे अधिवेशनमा पनि नियमित बैठक सञ्चालन नभएपछि आलोचना हुन थालेको छ । संसद्भित्र र बाहिरबाट यसबारेमा आलोचना भइरहेको छ । वर्षे अधिवेशन सकिएको चार महिनापछि हिउँदे अधिवेशन आह्वान गरिएको थियो । केही महिनामै आगामी वर्षको बजेट तयारीमा लाग्नुपर्ने भएकाले हिउँदे अधिवेशनका लागि धेरै समय छैन । तर कम समय बचेको अवस्थामा पनि बैठक नियमित सञ्चालन हुन सकेको छैन ।

संसद् सचिवालय स्रोतका अनुसार सरकारले विजनेश नदिँदा बैठक नियमित गर्न समस्या भएको छ । सरकारले पर्याप्त विधेयक तयार पारेर संसद्लाई दिन नसकेको सचिवालयका एक प्रतिनिधिले बताए । उनले संसद् नियमित हुन नसक्नुमा सरकारकै कमजोरी रहेको आरोप लगाए । ‘सरकारले धमाधम विधेयक बनाएर दिने हो भने संसद् बैठक पनि धमाधम चल्छन्’ उनले भने, ‘काम नै नभए पनि बैठक मात्रै राख्नुको कुनै औचित्य हुँदैन ।’ प्रदेशसभाले काम नपाएर बैठक नियमित गर्न नसकिरहे पनि सरकारका पदाधिकारीहरू भने यसतर्फ गम्भीर नभएको आरोप लागेको छ । मन्त्रीहरू औपचारिक कार्यक्रमहरूमा नै केन्द्रित हुँदा सरकारको कामका साथै प्रदेशसभाको काममा समेत असर परिरहेको बताइन्छ । एकातर्फ सरकारले संसद्लाई पर्याप्त काम दिन सकिरहेको छैन भने अर्कोतर्फ प्रदेशसभाका सदस्यहरू पनि संसद्को काममा भन्दा अन्य औपचारिक कार्यक्रमहरूमै केन्द्रित हुने गरेका छन् । जसले गर्दा पछिल्लो समय संसद् बैठकमा उपस्थिति पनि घट्दै गइरहेको छ । कतिसम्म भने हिउँदे अधिवेशनको दोस्रो बैठक गणपूरक संख्या नपुग्नै भएकै कारण स्थगित गरिएको थियो ।

सभामुख राजबहादुर शाहीको भूमिकालाई लिएर सत्तापक्षीय दलकै सांसदहरूले पनि आलोचना गर्न थालेका छन् । सभाको कामकारवाहीलाई प्रभावकारी बनाउन सभामुखको महत्वपूर्ण भूमिका हुने भए पनि यसतर्फ शाहीको ध्यान नगएको आरोप सत्तापक्षकै एक सांसदको छ । उनले सरकारले जे–जे भन्छ त्यहीअनुसार काम गर्ने गरेको गुनासो छ । ‘विधेयक नै नभए पनि संसद्ले गर्न सक्ने अन्य धेरै काम छन्’ उनले भने, ‘तर सभामुखले त्यसतर्फ ध्यान नदिँदा संसद् कामविहीन बनेको छ ।’ साथै उनले संसदीय समिति नेतृत्वविहीन अवस्थामा भइरहनु विडम्बनापूर्ण रहेको भन्दै जतिसक्दो छिटो नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७६, सोमबार ०५:०६