चीनबाट डेढ सय नागरिकको उद्धार
काठमाडौं : सरकारले चीनको वुहानबाट एक सय ७५ नागरिकको उद्धार गरेको छ । हुबेई प्रान्तका विभिन्न ६ सहरमा रहेका उनीहरूलाई वुहानमा जम्मा गरेर उद्धार गरिएको हो । यीमध्ये एक ७० विद्यार्थी, एक मजदुर, दुई बालबालिका र दुई पर्यटक छन् । जसमा एक सय ३४ जना पुरुष तथा ४१ जना महिला छन् । नेपाल आउन एक सय ८५ जनाले आवेदन दिए पनि चारजनाले चीनमै रहने निर्णय गरे भने ६ जनालाई ज्वरो आएका कारण अनुमति नभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । ‘१७५ जना स्वदेश फर्कनुभएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने, ‘नेपाल सरकारले पठाएको एक लाख थान मास्क पनि चीनको हुबेई प्रान्तको च्यारिटी फेडरेसनलाई हस्तान्तरण गरिएको छ ।’
सरकारले आन्तरिक प्रयास थालेको १३ दिनपछि विशेष तालिमप्राप्त स्वास्थ्यकर्मी र चालकदलसहित १६ जनाको टोली वुहान पठाएको थियो । चीनबाट फर्काइएकाहरूलाई राख्न क्वारेन्टाइनमा लगभग ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ ।
क्वारेन्टाइनमा २५ स्वास्थ्यकर्मीको टोली खटाएको छ । कम्तीमा दुई साताको क्वारेन्टाइन अवधिसम्म स्वास्थ्यकर्मी त्यहीँ रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तापक्रम जाँच हुनेछ । व्यक्ति स्वयम्ले जाँच गर्न मिल्ने गरी छुट्टाछुट्टै थर्मोमिटर पनि राखिएको छ । परिवारसहितका लागि बेग्लै, पुरुष र महिलालाई बेग्लाबेग्लै तथा चिकित्सकलाई पनि बेग्लै ब्लकमा बासस्थान मिलाइएको छ । क्वारेन्टाइनमा १८ सिसिक्यामेरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गरिएको छ । कपडा धुन तीनवटा वासिङ मेसिन राखिएको छ । प्रत्येक शैड्ढयामा बेग्लै ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, मस्क, औषधिलगायत आवश्यक सामग्री व्यवस्था गरिएको छ । त्यस्तै, क्वारेन्टाइनमा मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोर्ट बनाइएको छ भने क्यारेमबोर्डको पनि व्यवस्था छ । बच्चाका लािग खेल सामग्री राखिएका छन् ।
क्वारेन्टाइन क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र बललाई सुरक्षाको जिम्मा दिइएको छ । उद्धार टोलीका सदस्यहरूलाई पनि बेग्लै क्वारेन्टाइनमा राख्ने तयारी छ । ‘क्वारेन्टाइनमा भइपरी आउने समस्यालाई ध्यान दिँदै सबै आवश्यक तयारी गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग भेटघाट गर्न बन्देज गरिएको छ । पाँच गाडी र तीन सुविधासम्पन्न एम्बुलेन्स पनि तयारी राखिएको छ । परिवारसहितका लागि बेग्लै, पुरुष र महिलालाई बेग्लाबेग्लै तथा चिकित्सकलाई पनि बेग्लै ब्लकमा बासस्थान मिलाइएको छ ।
प्रकाशित मितिः ५ फाल्गुन २०७६, सोमबार ०५:०१
साझा बिसौनी ।