सुत्केरीलाई प्रोत्साहन भत्ताबाट वञ्चित
जुम्ला : कनकासुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी महिलाहरूले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले नवजात शिशुको मृत्यु हुने दर शून्यमा झार्नका लागि स्वास्थ्य संस्थामा गर्भवती महिला सुत्केरी हुँदा प्रोत्साहन भत्ता दिने गरेको छ । तर एक वर्षदेखि उक्त भत्ता नपाएको गुनासो महिलाहरूको छ ।
सुत्केरी महिलालाई पोषणयुक्त खाना र गर्भवती महिलालाई स्वास्थ्य संस्थामा गई चार पटक स्वास्थ्य जाँज गराए वापत दिनुपर्ने आठ सय रूपैयाँ र सुत्केरी भए वापत पाउनुपर्ने तीन हजार गरी जम्मा तीन हजार आठ सय रूपैयाँ रकम कनकासुन्दरी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाले गत वर्षदेखि नै नदिएको हो । सुत्केरी भएको एक वर्ष बितिसक्दा पनि सुत्केरी प्रोत्साहन भता नपाएको र स्वास्थ्य संस्थामा माग्न जाँदा गाउँपालिकाबाट बजेट नआएको जवाफ दिइने गरिएको छ । कुनै पनि महिला स्वास्थ्य संस्थामा सुत्केरी हुनासाथ यो रकम पाउनुपर्ने प्रावधान छ ।
सुत्केरी भत्ता नपाएपछि मालिका बोताका महिलाहरूले संघीयतामाथि नै प्रश्न गर्न थालेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ मालिका बोताकी सुनमाया रावतले भनिन्, ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको भनेको यही होला, सुत्केरी भएकै बेला पाउनुपर्ने रकम गाउँपालिकाले दिएन, पहिले त तत्कालै दिइन्थ्यो ।’ सुनमायाले मात्र नभइ गाउँपालिकाभित्र पर्ने हाड्सिन्जा, मालिका बोता र कोटघरमा रहेको ‘बर्थिङ सेन्टर’मा सुत्केरी भएका धेरै महिलाले सुत्केरी प्रोत्साहन भत्ता पाएका छैनन् ।
हाड्सिन्जा ‘बर्थिङ सेन्टर’मा गर्त वर्ष सुत्केरी भएका १४ जना र यस वर्षका २४ गरी ३८ जना महिलाले प्रोत्साहन भत्ता पाएका छैनन् । मालिका बोतामा गत वर्षका ५ जना र यो वर्ष १६ जना गरी २१ जना सुत्केरी महिलाले पनि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखामा सुत्केरी भएका महिलाहरूको प्रतिवेदन पु¥याएको स्वास्थ्य संस्थाका प्रमुखहरूले बताएका छन् । तर गाउँपालिकाले चाहिँ अझैसम्म सुत्केरी आमा र गर्भवतीहरूलाई प्रोत्साहन भत्ता दिएको छैन । गत कार्तिक र वैशाख महिनामा भिटामिन र जुकाको औषधि खुवाए वापत महिला स्वास्थ्य स्वयम्सेविकाले गाउँपालिकाबाट पाउनुपर्ने आठ सय रूपैयाँ पनि अझै दिइएको छैन । गत वर्ष बजेट अभाव र यो वर्षको बजेट ढिलो आएकाले समयमै सुत्केरी आमाहरूलाई प्रोत्साहन वापतको रकम दिन नसकेको कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले बताए । उनले भने, ‘अबको केही दिनभित्र सबै सुत्केरी महिलाले रकम पाउने व्यवस्था मिलाउँछौं ।’
प्रकाशित मितिः ४ फाल्गुन २०७६, आईतवार ०५:०६
साझा बिसौनी ।