पत्रकारिता तालिम सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ चैत ।
ए–वान मिडिया एण्ड रिसर्च सेन्टर सुर्खेतको आयोजनामा १५ दिने व्यवसायिक पत्रकारिता तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । तालिमको सोमवार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले पत्रकारिता समाजको ऐना भएकाले सत्यतथ्य बाहिर लयाउन पत्रकारहरूले ध्यान दिनुपर्ने बताए । कोइरालाले पत्रकारिता निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने बताए । उनले विकासका लागि पत्रकारको भूमिका हुने भन्दै जुन देशमा नागरिकहरूको सूचनामा पहुँच धेरै छ त्यही देशको विकास भएको बताए । उनले पत्रकारिता निकै महŒवपूर्ण पेसा भएको भन्दै यसको मर्यादालाई कायम राख्नुपर्ने बताए । 
प्रा.डा. कोइरालाले सबैभन्दा महŒवपूर्ण मान्छे, महŒवपूर्ण काम र समय चिन्न सक्नुपर्ने भन्दै पत्रकारले अझ बढी समयलाई चिन्न सक्नुपर्ने बताए । यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारिता क्षेत्रमा पनि दक्ष जनशक्तिको अभाव भएको भन्दै सीप र क्षमताका विकास गरी पत्रकारितामा प्रवेश गरे सम्भावना र अवसर धेरै भएको बताए । यो पेसामा अवसर र चुनौती दुवै भएको भन्दै अध्यक्ष भारतीले लगनशील व्यक्ति यो क्षेत्रमा प्रवेश गरेर क्षमताको अभिवृद्धि गर्नसके सफल भइने बताए । 
ए–वान मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष त्रिभुवन बिसीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघ सुर्खेत शाखाका पूर्व अध्यक्ष दुर्गबहादुर थापा, विभिन्न सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरू र तालिममा सहभागीहरूको उपस्थिति रहेको थियो । १५ दिनसम्म सञ्चालन हुने तालिममा भिडियो सम्पादन, क्यामेरा, रेडियो र टेलिभिजन कार्यक्रम उत्पादन लगायतका तालिम प्रदान गरिने जनाइएको छ ।
प्रकाशित मितिः   १६ चैत्र २०७२, मंगलवार ०६:१६