विदेशबाट आउने अनुदान सहयोग तथा आयातित योजना–परियोजनाबाट भन्दा देशभित्रको प्राकृतिक सम्पदा वा साधनस्रोतको सदुपयोगमा योजनाबद्ध ढङ्गले देशकै जनशक्तिको परिचालन गर्न सक्ने हो भने समृद्धि आउन धेरै समय पर्खनु नपर्ला । सहयोगको अपेक्षा राख्नु नराम्रो होइन तर मागेर नै समृद्धि ल्याउने उद्देश्य (अपेक्षा) राख्नु अनूचित हो ।

मागेर होइन मेहेनतले दिलाउँछ समृद्धि

                        उदय रावल

समय–समयमा नेपालमा हुने र भए÷गरेका वैदेशिक सहयोग, अनुदान तथा योजना–परियोजनाहरूकाबारे चर्चा–परिचर्चा एवम् बहसहरू चलिरहन्छन् । हिजोआज नेपालमा भित्र्याउन खोजिएको ५५ अर्बको अमेरिकी सहयोग अर्थात मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा सडकदेखि सदनसम्म भएको बहस नेपालका विभिन्न संचार माध्यमहरूमा पढ्न, हेर्न र सुन्नमा आइरहेका छन् भने सामाजिक सञ्जालमा अझैं पनि यसबारेमा गरिएका टिकाटिप्पणीका धेरै पोष्टहरू भेटिन्छन् । वैदेशिक ऋण सहयोग, अनुदान सहयोग तथा योजना–परियोजनाहरू (लगानी) भित्र्याउनकै लागि भनेर सन् २०१७ र २०१९ मा लगानी सम्मेलनहरू सम्पन्न भए; जसबाट खरबौं रकम बराबरको प्रतिबद्धताहरू आए पनि तर प्रतिबद्ध भएका धेरै लगानीहरू कार्यान्वयनमा आएनन् वा आउन सकेनन् । केही आएका वा भित्रिएका लगानीहरूबाट पनि अपेक्षित प्रतिफल प्राप्त भएको देखिदैन ।

आजसम्म नेपालमा थुप्रै वैदेशिक योजना–आयोजनाहरू, अनुदान सहयोग र ऋण सहयोगहरू आइसकेका छन्, ती योजना–आयोजनाहरूको कार्यान्वयनबाट देशले समृद्धि पाएको खासै अनुभूति छैन जनतामा; ती सहयोगहरूबाट देशले विशेष फड्को मारेको वा प्राप्त सहयोगबाट जनतामा हर्षाेल्लासको अनुभूति छैन । बरु ती वैदेशिक योजना–आयोजनाहरूको कार्यान्वयनसँगै देशको भौगोलिक अखण्डतामा हस्तक्षेप तथा सहयोगरूपी ऋणको भारीको मारमा छन् आज नेपाली जनता । विदेशबाट आउने अनुदान सहयोग तथा आयातित योजना–परियोजनाबाट भन्दा देशभित्रको प्राकृतिक सम्पदा वा साधनस्रोतको सदुपयोगमा योजनाबद्ध ढंगले देशकै जनशक्तिको परिचालन गर्न सक्ने हो भने समृद्धि आउन धेरै समय पर्खनु नपर्ला । सहयोगको अपेक्षा राख्नु नराम्रो होइन तर मागेर नै समृद्धि ल्याउने उद्देश्य (अपेक्षा) राख्नु अनूचित हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा नेपालमा अहिले चर्चामा छ । ‘समृद्धि’ भन्नाले कुनै एक विषय वा क्षेत्रमा भएको भौतिक परिवर्तन वा विकासलाई मात्र मान्न सकिदैन, मानवीय हिसाबमा समृद्धिको वास्तविक अर्थ मानव समाजको सर्वपक्ष÷क्षेत्र – सामाजिक, आर्थिक, भौगोलिक, साँस्कृतिक, आध्यात्मिक, राजनीतिक, मनोवैज्ञानिक विकासक्रमको परिवर्तनसँगै तुलनात्मक रूपमा राम्रो, अब्बल वा उच्चतम् विन्दुको परिवर्तन नै ‘समृद्धि’ हो । सतही रूपमा भौतिक विकास वा संरचनागत विकास (बाटोघाटो, पुलपुलेसा, गगनचुम्बी महलहरू आदि बन्नु) वा भोक–बिलाषको जीवनयापन गर्न पाउनुलाई नै ‘समृद्धि’को संज्ञा दिइएको पाइन्छ । यस पंक्तिकारद्वारा ‘समृद्धि’ र ‘विकास’लाई घनिभूत हरूमा परिभाषित गर्न वा विज्ञता प्रस्तुत गर्न खोजिएको होइन; यद्यपि देशमा कसरी समृद्धि आउला भन्नेमा आफ्नो सोच÷विचार मात्र प्रस्तुत गर्न खोजिएको हो ।

एउटा सानो उदाहरण हेरौं– हाम्रो समाजमा वैवाहिक बन्धनमा बाँधिएका जोडीलाई उपहार वा दाइजो प्रदान गर्ने प्रचलन आजसम्म पनि छ, के ती जोडीले प्राप्त गरेको उपहार (सहयोग) वा दाइजो (सहयोग)बाट नै उनीहरूको परिवारमा समृद्धि छाएको छ त ? आफ्नो वैवाहिक जीवन सफल, सक्षम र दीर्घकालीन बनाउन त्यो सहयोग (उपहार वा दाइजो) नै पर्याप्त हुन्छ त ? एउटा सफल जोडीको पारिवारिक समृद्धि ल्याउन अरुबाट प्राप्त आर्थिक सहयोग वा लगानी पर्याप्त हुँदैन; बरु उनीहरूको परिपक्कता, अनुशासन, मेहेनत, परिश्रम, पारिवारिक सामिप्यता एवम् एकताको पनि उत्तिकै खाँचो पर्दछ । त्यसैगरी देशभित्र हुने वैदेशिक ऋण लगानी, प्राप्त अनुदान सहयोग, भित्रिएका योजना–परियोजना वा प्रतिबद्धताहरूले मात्र समृद्धि आउँछ भन्नु व्यर्थ हो । इतिहास साँक्षी छ– हाम्रो देशको सीमाना भौगोलिक रूपमा पहिले कति समृद्ध थियो; प्राकृतिक साधन–स्रोत, आर्थिक, सामाजिक, साँस्कृतिक, भाषिक, धार्मिक–आध्यात्मिक सम्पूर्ण क्षेत्रहरूमा देश सफल र सक्षम थियो । त्यतिबेला आफ्नै पाखुरीको बलमा र आफैले तयार गरेका खुकुरी–ढाल–तरबारको प्रयोग गरी नेपालका विर–विरङ्गनाहरूले देशको सीमा पूर्वमा टिष्टा पश्चिम काँगडासम्म फैलाएको इतिहास छ । जनताको घरमा चुल्हो बलेको देखेपछि मात्र खाना खाने राजाको इतिहास छ हामीसँग ।

आफ्नै पाखुरीबाट कुटो–कोदालोको भरमा उर्बर–भूमि अर्थात ‘अन्न–भण्डार’ बनाएको इतिहास छ । अरनिको, अंशुबर्मा र भृकुटीले आफ्नै मेहेनत (परिश्रम)को लहरमा देशलाई संसारभर चिनाएको इतिहास छ । नेपालको ऐतिहासिक सीप, कला–कौशल कति समृद्ध थियो भन्ने तथ्य मल्लकालीन नेपाली इतिहासबाट बुझ्न सकिन्छ । बुद्ध, सीता र जनकले संसारभर फैलाएको धार्मिक एवम् आध्यात्मिक समृद्धिको आँकलन आज पनि प्रमाणका रूपमा रहेका पुराना मठ–मन्दिर, शिलालेख, ताम्रपत्र जस्ता पारमाणिक तथ्यहरूबाट समेत प्रष्ट हुन्छ । यसरी हेर्दा नेपाल स्वतन्त्र मात्र नभई तुलनात्मक रूपमा समृद्ध नै थियोे ।

आज कृत्रिम र भोक–विलाषोन्मुख सामाजिक विकृतिहरूको दिनप्रतिदिन विकास हुँदै गएको छ । भौगोलिक तथा प्राकृतिक सम्पदाको विनाश गरी भौतिक संरचनाको लटरपटर वा झारो टार्नेखालको विकास एवम् खोक्रो परिवर्तनलाई समृद्धिको सपनाका रूपमा देखाइएको छ । विकास र अनुदान सहयोगको नाममा वैदेशिक हस्तक्षेपको पराकाष्टाका उदाहरणहरू धेरै छन् । एकातिर भारतीय विस्तारवादले सीमामा हस्तक्षेप गरिरहेको समाचारहरू पत्रपत्रिका÷संचार माध्यममा आइरहेका हुन्छन् भने अर्काेतिर अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको सहयोग र अनुदानका नाममा विभिन्न रवाफ एवम् दवावका दस्ताबेजहरूमा सम्झौता गर्न आतुर देखिएको हुन्छ आजको नेतृत्वपंक्ति । केही अनुदान एवम् सहयोगहरू, जसले आत्मनिर्भरताभन्दा परनिर्भता बढाएको समेत देखियो । खाद्यसंकट समाधानका लागि साविकको कर्णाली अञ्चल तथा दुर्गम पहाडी जिल्लाहरूमा लागू भएको ‘विश्व खाद्य कार्यक्रम’को प्रसङ्ग– ती जिल्लाहरूमा विश्व खाद्यको खाद्य–वितरण कार्यक्रमले क्षणिक तथा केही समयका लागि सकारात्मक प्रभाव पारे पनि दीर्घकालीन रूपमा त्यहाँका जनताको कार्यक्षमता वा कार्यदक्षतामा प्रतिकूल प्रभाव पारेको देखियो । उनीहरू आफ्नो जग्गाजमिनमा उत्पादनमूलक कार्य गर्न वा परिश्रम गर्न छोडी, विश्व खाद्यबाट प्राप्त खाद्यपदार्थ (चामल, दाल आदि) तथा ज्याला रकमबाट जीविकोपार्जन गर्ने लतमा फसे । विश्व खाद्य कार्यक्रम लागू भएका जिल्लाहरूका बहुसंख्यक खेती–किसानीमा लागेकाहरू वा आफ्नै साधनस्रोत तथा पाखुरीका बलमा गरी खानेहरू खेतबारी बाँझै छोडी विश्व खाद्य कार्यक्रमको ज्याला–मज्दुरी र सहयोगमा निर्भर हुन थाले । त्यसको प्रभावस्वरूप हाल पनि आफ्नो खेतबारी बाँझै छोडी जसरी हुन्छ, पैसा कमाउने र अरुबाट सहयोग वा अनुदान प्राप्त गर्ने धाउन्नमा परनिर्भरता बढेको देखिन्छ ।

नङ्ग्रा खियाउनेभन्दा कुरा (गफ, भाषण) गर्ने प्रवृत्ति फस्टाउँदो छ हाम्रो देशमा । अर्काे पक्षको कुरा काट्ने, आलोचना गर्ने, निन्दा गर्ने र आफ्नो पक्षको बचाऊ गर्दै भाषण ठोक्ने प्रवृत्तिको विकास राजनीतिक नेतृत्वमा छ । त्यसैले जनतामा पनि कसले कस्तो भाषण ग¥यो, कसले अरुलाई खसालेर आफू र आफ्नालाई चढाउन सक्यो भन्ने कुराको लेखाजोखा राख्ने, चियोचर्चाे गर्ने प्रवृत्तिको विकास भएको पाइन्छ । हिजोका दिनमा नङ्ग्रा खियाएर, ठेला उठेका हातहरूले बाँजो जमिनलाई उर्बर–भूमिमा परिणत गर्दै समग्र देशको ग्राहस्थ वृद्धिमा सघाउने धेरैजसो सशक्त खम्बाहरू आज भोक–विलाष र कृत्रिम सामग्रीको प्रयोगमा दिन बिताइरहेको पाइन्छ, पसिनाको भन्दा पैंसाको खेलमा अघि बढिरहेको छ नेपाली समाज; सेवा, सत्कार, सद्भाव, सत्कर्मभन्दा छलकपट, झुक्काउने–फसाउने–डुबाउने खेलबाट धनोपार्जनतिर उन्मुख भएको छ । आफ्नो भाषा संस्कृतिको विकास गर्नुभन्दा पश्चिमा भाषा सिक्ने र त्यसलाई नै आफ्नो मानप्रतिष्ठाको कसी बनाउने उद्धतमा छन् केही पढेलेखेका भनिएकाहरू । हिजो बोल्दै तथा पुस्ता–पुस्तामा हस्तान्तरण हुँदै आएका भाषाहरू तथा प्रयोगमा आएका भेषभूषा, आ–आफ्ना जाति–जनजातिको रीति–थिति र साँस्कृतिक पहिचानलाई अघिल्लो पुस्ताबाट ग्रहण गरी त्यसको संरक्षण सम्बद्र्धन गर्दै लानुको सट्टा विभिन्न आयातित लवाइखवाइ, भाषा संस्कृति, फेशनलाई आफ्नो दैनिकी बनाएर सभ्यताको पाठ पढाउँदै छन् आजका सुकिलामुकिला कहलिएकाहरू । हिजोको समृद्ध साँस्कृतिक परम्परालाई ‘पाखे’को बिल्ला भिडाउने आजका तिनै सुकिलामुकिलाहरू सहयोग वा अनुदानका नाममा व्यक्तिगत तथा क्षणिक स्वार्थ–सिद्धिका लागि पाश्चात्य संस्कृति एवम् हस्तक्षेप भित्र्œयाउन तल्लिन छन् ।

यो पंक्तिकारलाई नारायण गोपालको स्वरमा सजिएको राष्ट्रभक्ति गीत–‘मागेको धोतीले मेरो लाज छोपिन्न । घोटिएर हातपाउ झरिजाऊन् औंला, तर कोही अगाडि यी हात जोडिन्न…, आज पनि उत्तिकै सान्दर्भिक लाग्छ । वास्तवमा कर्मशील यी हातपाखुराहरूको मेहेनत र परिश्रमबिना, यहाँको साधनस्रोत तथा सम्पदाको अधिकाधिक उपयोगबिना, यहाँको मौलिक साँस्कृतिक भाषिक सम्पदाको संरक्षण–सम्बद्र्धनबिना विदेशबाट आएको अनुदान सहयोग, ऋण सहयोग वा आयातित योजना–परियोजनाले मात्र देशमा समृद्धि ल्याउन कठिन छ । कसैकासामु सहयोगरूपी थाल (अपेक्षा) थापेर होइन, मेहेनतरूपी नङ्ग्रा खियाएर अघि बढ्न सके परिवार–समाज हुँदै सिंगो देशमा नै समृद्धि ल्याउन सकिन्छ । श्रीस्वस्थानी कथामा उल्लेखित शुक्राचार्यको “उत्तम चाकरी, मध्यम व्यापार, अधम खेती” भन्ने नीतिलाई त्यागेर गुरु बृहस्पतिको “उत्तम खेती, मध्यम व्यापार, अधम चाकरी” भन्ने नीतिलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्छ । हिजो प्राप्त उपलब्धिलाई अनुशरण, संरक्षण एवम् सम्बद्र्धन गरी आफ्नो मौलिकतासँगै अघि बढ्न सक्ने हो भने; प्राकृतिक, साँस्कृतिक एवम् भाषिक समृद्धिलाई कायम राख्दै विकास र समृद्धिमा अरुको सहयोग अनुदानका पछि नलागि सबै एकजुट भयौँ भने; आफ्नै पाखुरीको मेहेनत–परिश्रम तथा स्वबुद्धिविवेकमा देशभित्रकै साधनस्रोत र सम्पदाको बहुउपयोग गर्न सक्यौँ भने अवश्य पनि देशले स्थायीरूपमै समृद्धिको नयाँ काँचुली फेर्छ ।

प्रकाशित मितिः   ४ फाल्गुन २०७६, आईतवार ०५:०४