मछिन्द्र बन्यो लिग च्याम्पियन

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबले जितेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि चुमेको हो । दशरथ रंगशालामा शनिवार भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपाधि जित्ने आर्मीको लक्ष्य तुहियो । लिग जित्ने प्रवल सम्भावना रहे पनि आर्मीले सुनौलो अवसर गुमाउँदै उपविजेतामै चित्त बुझाएको हो । उपाधिका लागि आर्मीले मछिन्द्र क्लबसँग बराबरी खेलेको भए पनि पुग्ने थियो । तर आफ्नै खेलाडीको आत्मघाती गोल उसका लागि महङ्गो सावित भयो ।

खेलको ३३औं मिनेटमा आर्मीका खेलाडीले रेजिन सुब्बालाई फोउल गरेपछि मछिन्द्र क्लबले फ्रिकिक पायो । मछिन्द्रका लागि रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे । योसँगै मछिन्द्र १–० गोलले अघि रहेको थियो । विकास तामाङले क्लियर गर्न नसकेपछि बललाई बचाउने क्रममा पोलमा ठोक्किएर आर्मीका गोलकिपर विकेश कुथु भने गम्भीर घाइते हुँदै मैदानबाट बाहिरिए । उनको स्थानमा विवश चौधरीले गोल किपरको जिम्मा पाएका थिए ।

खेलको ६०औं मिनेटमा विशाल राईको पासमा देवेन्द्र तामाङले गोल गर्न सकेनन् । डिबक्सभित्र वान भर्सेस वानको अवस्थामा देवेन्द्रले प्रहार गरेको बल आर्मीका गोल किपर विवश चौधरीले उत्कृष्ट बचाउ गरे । योसँगै मछिन्द्रले २–० गोलको अग्रता लिनबाट चुक्यो । खेलको अतिरिक्त समयमा आर्मीले कर्नरबाट गोल गर्ने राम्रो अवसर पाएको थियो । तर बाधक विशाल राई बने । विशालले गोल लाइनबाट हेड गर्दै मछिन्द्रलाई बचाए । जीतसँगै मछिन्द्रले १३ खेलबाट १० खेलमा जीत, २ खेलमा बराबरी र १ खेलमा हार व्यहोर्दै ३१ अंक बनाएर लिग जितेको हो । उप–विजेता आर्मीले भने १३ खेलबाट ९ खेलमा जीत २ खेलमा बराबरी र २ खेलमा हार व्यहोरेको आर्मी २९ अंक बनाएर उप–विजेता बनेको हो ।