नेपाली भूमि मिचेर भारतद्वारा सडक

दार्चुला : ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको छ ।

त्रिदेशीय सीमा क्षेत्र ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्रमा करिब एक किलोमिटर परबाट डेढ सय मिटर तथा त्यसकै केही अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर जतिको डोजर जाने सडक बनाएको छ । एकतर्फी रूपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिँदै र नेपालतर्फको घोरेटो बाटोमा समेत क्षति गरेको छ । नदीको वारिपारी ठूल्ठूला ढुङ्गाहरूले पानी नै देखिँदैन । धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ ।