गाउँ–गाउँमा पढाइ शिविर

बिसौनी संवाददाता
दैलेख, १० भदौ ।
दैलेख सिगौडी गाविस वडा नं. ९ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा २ का छात्रा मनिषा विक प्रत्येक शनिवार गाउँमै सञ्चालन हुने पढाइ शिविरमा पुग्दछिन् । गीत, कविता तथा नाचगानको माध्यमबाट विभिन्न जीवनउपयोगी सीप
सिक्छिन् । उनकै साथी अस्मिता विक, निरु कार्की लगायत २६ जना बालबालिका पनि प्रत्येक शनिवार यो कक्षा छुटाउँदैनन् ।
जिल्ला शिक्षा कार्यालय दैलेखसँगको समन्वय सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना सेभ द् चिल्ड्रेनसँगको साझेदारीमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत पढाइ शिविर सुरु भएपछि उनीहरूमात्र होइन यहाँका १० वटा गाविसका बालबालिका अहिले उक्त शिविरमा पुगेर जीवउपयोगी सीप सिकिरहेका छन् । राकमकर्णाली, विशाला, पादुका, चामुण्डा, जम्बुकाँध, सेरी, खड्कावाडा, पिलाडी र लालीकाँडा गाविसका प्रत्येक टोलका बालबालिका पढाइ शिविरका विभिन्न क्रियाकलापहरूमा उनीहरूको सहभागिता हुन थालेको छ । केन्द्रले दश गाविसका ३० वटा टोलमा पढाइ शिविर सञ्चालन गरेको छ । पहिलो चरणमा १५ ओटा विद्यालयका सेवाक्षेत्रका विभिन्न दुई÷दुई ओटा टोलमा शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ । शिविर सञ्चालन भएपछि विद्यालय समयभन्दा बाहिरको समयमा खेलेर बिताउने बालबालिका विभिन्न खेल, कथा, कविता, नाटक तथा नाचगानमार्फत् नयाँ कुराहरू सिक्ने थालेका नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रअ धनबहादुर बोहराले बताए । शनिवारका दिन बालबालिकाहरूलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेको छ ।
बालबालिकाहरूमा पढाइ रुचि जगाउने उनीहरूको स्तरअनुकूल पढ्ने क्षमता विकास गर्ने, कक्षा कोठामा पठन सीप सम्बन्धी क्रियाकलापमा सक्रियतापूर्वक सहभागिताको विकास गर्न शिविर सञ्चालन गरिएको सहयात्रा परियोजना संयोजक रत्नबहादुर बुढाले बताए । उनले आधारभूत शिक्षालाई गुणस्तरीय र बालबालिकाहरूमा नियमित पढ्ने बानीको विकास गर्न शिविर सञ्चालन गरिएको जनाए ।
शिविरमा बालबालिकाहरूले व्यक्तिगत सरसरफाइ, स्वास्थ्य सम्बन्धी विभिन्न सीपहरू सिक्ने, व्यवहारिक विषयवस्तुहरू सिकाइने भएकाले उनीहरूको बानी व्यवहारमा सकारात्मक परिवर्तन आउन सक्ने शिक्षक धनबहादुर बोहोराले बताए । शिविर सञ्चालनका लागि केन्द्रले ६० जना स्वयम्सेवकलाई विभिन्न शिविरमा तालिम सञ्चालन गरी परिचालन गरेको छ । यसबाट बालबालिकाको चौतर्फी विकासमा सहयोग पुगेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष मञ्जुकुमारी खड्काले बताइन् ।

प्रकाशित मितिः   १० भाद्र २०७३, शुक्रबार ०७:२०