विद्यार्थी नियमित गर्न नयाँ जुक्ति

बिसौनी संवाददाता
कालिकोट, १० भदौ ।
चन्द्रसूर्य आधारभूत विद्यालय रकु–३, मा कक्षा ३ मा अध्ययनरत मीना सार्की विद्यालयमै विद्यालयको पोशाक पाएपछि निकै खुशी देखिन्थिन् । विद्यालयले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि ती किताब बोक्ने झोलाको अभाव झेलिरहेकी मीनाले स्कुल ड्रेससहित कापी, कलम र आधारभूत तहमा आवश्यक पर्ने अन्य शैक्षिक सामग्री पाएपछि उनको अनुहारमा खुशीको तरङ्ग दौडिरहेको थियो । ‘अब त म सधैं स्कूल आउँछु र सरले भन्नु भएको सबै कुरा राम्रोसँग पढ्छु’ हातभरी कापी कलम समाएकी मीनाले भनिन्, ‘अब त म घरमा स्कुल न जा भने पनि स्कुल आउँछु ।’
मीना जस्तै चन्द्रसूर्य विद्यालयका २० जना बालबालिकाहरू यस्तै खुशी देखिन्छन् । सेभ द् चिल्ड्रेनको आर्थिक सहयोगमा भीडीसेफ नेपाल कालिकोटले यहाँका विपन्न २० जना छात्रछात्रालाई शैक्षिक सामग्री उपलब्ध गराए विद्यार्थीहरूमा खुशीयाली छाएको हो । भीडीसेफ नेपालले सेभ द् चिल्ड्रेनको सहयोगमा सुख्खा क्षेत्र सम्बोधन कार्यक्रममार्फत् यहाँका विद्यार्थी र अभिभावकलाई समेत आयआर्जनका लागि पनि सहयोग गरेको छ । कार्र्यक्रम अन्तर्गत विद्यालय सेवा क्षेत्रमा अभिभावक लक्षित अन्य कार्यक्रम पनि भएपछि विद्यार्थी मात्र होइन अभिभावहरूको अनुहारमा पनि केही आशाका किरण झुल्किएका छन् । ९० घरधुरी रहेको यो बस्तीमा १७ घरधुरी बाहेक अन्य सबै दलित बस्ती हो ।
कार्यक्रममार्फत् विद्यालय भवन र शौचालय मर्मत, मूलपानी सिँचाइ आयोजना निर्माण, अभिभावकहरूलाई किचन गार्डेनमा आकर्षित गर्ने लगायतका क्रियाकलाप सम्पन्न भएपछि त्यसलाई निरन्तरता दिने अभिभावकहरूले बताएका छन् । ‘संस्थाले हामीलाई बाटो देखाएको छ, अब यसको निरन्तरता दिन हामी उत्साहित भएका छौं’ रकु–३ का धन तिरुवाले भने, ‘हाम्रो आयआर्जन वृद्धिसँगै विद्यालयको मुहार पनि फेरिने छ ।’ उनले आफूले हिउँदमा फल्ने गहुँ र जौ को बीऊ पाएको बताए ।
यहाँका ४५ घर परिवारले किचन गार्डेन सुरु गरेका छन् भने ७१ घर परिवारका लागि विभिन्न बालीहरूको बीऊ उपलब्ध गराइएको छ । अभिभावकहरूको आयआर्जन वृद्धिसँगै बालबालिकाहरूलाई विद्यालयमा निरन्तर गराउन सकिने भएकाले यो कार्यक्रममा सहयोग गरिएको सेभ द् चिल्ड्रेन कालिकोटका संयोजक विजय विश्वकर्माले बताए ।

प्रकाशित मितिः   १० भाद्र २०७३, शुक्रबार ०७:२३