कृषि प्रवर्द्धन गर्न समझदारी
सुर्खेत : कर्णालीको कृषि क्षेत्रको प्रवद्र्धन गर्नका लागि उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र र कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच समझदारी भएको छ । बिहीवार महासंघका केन्द्रीय अध्यक्ष भवानी राणा र मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि २०७४ चैत १२ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्योग वाणिज्य महासंघसँग कृषि क्षेत्रको विकासका लागि सम्झौता गरेका थिए । सोही सम्झौताको आधारमा सरकार–निजी साझेदारी कार्यक्रममार्फत कृषि उत्पादन, व्यवस्थापन र प्रवद्र्धनका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको हो । मन्त्रालयका सचिव भारीका अनुसार कृषि उद्यम प्रवद्र्धन केन्द्रले प्रविधिक सहयोग गर्ने र मन्त्रालयले बजेटको व्यवस्थापन गर्नुका साथै दुवै पक्ष मिलेर अनुुगमन गर्ने समझदारी भएको छ ।
समझदारी–पत्रमा कृषिको सम्भावनाका लागि पनि अध्ययन अनुसन्धान गरिने, योजना छनोट गरिने र लगानीकर्ता जुुटाउने उल्लेख छ । विस्तृत अध्ययन गरेर योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले बिहीवार एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरेकी हुुन् । ३५ लाख २९ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । गत वैशाखबाट सुरु भएको भवन नौ महिनामा सम्पन्न भएको हो ।
भवनको उद्घाटन गर्दै अध्यक्ष राणाले कर्णालीको विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रले सहकार्य गरेर अघि बढ्नुुुपर्नेमा जोड दिए । कर्णालीमा धेरै सम्भावना हुुँदाहुुँदै पनि विकास हुुन नसक्नु दुःखद् भएको उनको भनाइ छ । उनले उद्योग वाणिज्य महासंघले साझेदारी गरेर विकासका लागि सहकार्य गर्न तयार रहेको पनि बताइन् । कर्णाली प्रदेश समृद्ध नभएसम्म देश समृद्ध बन्न नसक्ने बताउँदै निजी क्षेत्रहरूले लगानी वृद्धि गर्नुपर्नेमा राणाको जोड थियो ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले निजी क्षेत्रसँगको सहकार्यमा आफूहरूले कृषि क्षेत्रमा लगानी गर्ने बताए । कृषिमा लगानी लगायत विभिन्न विषयमा निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो । ‘निजी क्षेत्रको सहयोगविना सरकारले एक्लै समृद्धि हासिल गर्न सक्दैन । यहाँको सम्भावनामा निजी क्षेत्रलाई लगानी गर्न हामी आग्रह गर्छौं’ उनले भने ।
प्रकाशित मितिः २ फाल्गुन २०७६, शुक्रबार ०५:०४
साझा बिसौनी ।