कांग्रेसले सरकारविरूद्ध आन्दोलन गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारले राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा मुद्दा लगाएको भन्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेता–कार्यकर्तालाई सुनियोजित रूपमा सरकारले झुठ्ठा मुद्दा लगाउने, दमन गर्ने गरेकोले चरणबद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णयमा पार्टी पुगेको हो । कांग्रेसले सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको पनि आरोप लगाएको छ । ‘सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म र भावनाविपरितका विधेयक तथा जनविरोधी क्रियाकलापविरूद्ध चरणबद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मितिः   २ फाल्गुन २०७६, शुक्रबार ०५:०२