जलविद्युत आयोजना पाँच वर्षदेखि अलपत्र

जुम्ला : जुम्लाको हिमा लघु जलविद्युत आयोजनामा एक करोड ३५ लाख रूपैयाँभन्दा बढी रकम खर्च भए पनि भौतिक प्रगति निकै कमजोर देखिएको छ । लाखौं रूपैयाँ खर्चिए पनि अहिलेसम्म आयोजनाको १० प्रतिशत काममात्र सकिएको छ । २०७१ सालदेखि नै ३५ किलोवाट क्षमताको यो आयोजना निर्माण थालिए पनि अहिलेसम्म स्थानीयले बत्ती बाल्न पाएका छैनन् । कामको गति हेर्दा वर्षौंसम्म पनि आयोजना निर्माण पूरा नहुने देखिन्छ । जुम्लामा रहेको क्याप्टा नामक संस्थाले २०७१ सालदेखि कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ लौडीसिमा यो आयोजना निर्माण थालेको थियो । सो संस्थाले साविकको बिराट गाविसको लुड्कु, लार्ज र गोचौरमा पर्ने वडा नम्बर ४, ५ र ७ मा रहेका पाँच सयभन्दा बढी घर परिवारलाई विद्युत सुविधा दिने भन्दै प्रत्येक घरधुरीबाट दुई हजार रूपैयाँका दरले तीन लाख १५ हजार नौ सय रूपैयाँ समेत संकलन गरेको थियो ।

यतिमात्रै होइन, एक एनजीओले लघुजलविद्युत निर्माण गर्ने भन्दै रकम मागेपछि साविकको विराट गाविसबाट २० लाख, सोही गाविसको ५ र ६ वडा बाट १८ लाख, सांसद कोषबाट १७ लाख रूपैयाँ समेत उपलब्ध गराइएको थियो । कनकासुन्दरी गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा यही आयोजनाका लागि ३५ लाख रूपैयाँ विनियोजन गरेको थियो । कामै नभए पनि यो आयोजनाले अहिलेसम्म एक करोड ३५ लाख रूपैयाँभन्दा बढी रकम खर्चेको हिसाब देखाएको छ । आयोजना बनाउन भन्दै क्याप्टाले काठमाडौंस्थित एजी पावर कम्पनीलाई आवश्यक सामग्रीका लागि भुक्तानी भन्दै ४३ लाख रूपैयाँ रकम समेत दिएको थियो । तर अहिलेसम्म खर्च भएको भनिएको एक करोड ३५ लाख रूपैयाँबाट नहर (कुलो) बनाउने, केही मेशिन औजार उपकरण खरिद गर्ने, बस्तीमा तार र पोलको लाइन तान्ने काममात्र भएको छ । आयोजना निर्माणको महत्वपूर्ण काम हुनै बाँकी छ । ढिलाइबारे सोध्दा उक्त आयोजनामा पटक–पटक कोषाध्यक्ष बनेका जगबहादुर शाहीले कुनै प्रतिक्रिया दिनै मान्दैनन् । स्थानीय सरकार र जनप्रतिनिधिहरूको गैरजिम्मवारी र लापरवाहीका कारण आयोजना बनाउने बजेट नै स्वाहा भएपछि स्थानीय दुःखी छन् । अलपत्र अवस्था रहेको आयोजनाका लागि बनाइएको नहर । तर स्थानीय सरकारका प्रतिनिधिहरूले भने आफ्नो पालामा आयोजनाको काम निकै अघि बढेको दाबी गर्छन् । आयोजना निर्माणमा भएको प्रगति प्रतिवेदन बिनै गाउँपालिका अध्यक्ष नरविर रावतले ६५ लाख रूपैयाँ बजेट विनियोजन गरिदिएका छन् र भुक्तानी समेत गरिसकेका छन् ।

आयोजना कुरेर बसेका स्थानीयले जनप्रतिनिधिहरूको लापरवाही र कमजोरीकै कारण आयोजना नै नबन्ने जोखिम बढेको बताउन थालेका छन् । आयोजनना निर्माण गर्ने भन्दै ६ वर्ष अघि ल्याइएको सामान अहिले पनि खुला आकाशमुनी राखिएको छ ।