जनयुद्ध दिवस मनाइयो
सुर्खेत : जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउन थालिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले जनयुद्ध दिवसको अवसरमा बिहीवार कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेकपाका नेताहरूले जनयुद्धकै कारण देशमा परिवर्तन आएकाले यसलाई संस्थागत गर्दै देशको विकासमा लाग्नुुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह–इन्चार्ज झकबहादुर मल्ल(सुदिप)ले देशमा आएको परिवर्तन जनयुद्धकै कारण भएको बताए । उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन विभिन्न तत्वहरू लागिपरेको बताउँदै नेता तथा कार्यकर्तालाई सचेत हुन पनि सुझाव दिए । नेकपाकी नेतृ तथा कर्णाली प्रदेशसभा सदस्य सीता नेपालीले जनयुद्ध र जनआन्दोलनका कारण धेरै अधिकार प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्न आवश्यक रहेको धारणा राखिन् । उनले जनयुद्धका समयमा भएका सहिदहरूको सपना पूरा गर्न पनि अबका नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिइन् । सुर्खेत जिल्ला सचिव कृष्ण जिसीले जनयुद्धका समयमा सहिद भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मितिः २ फाल्गुन २०७६, शुक्रबार ०५:००
साझा बिसौनी ।