अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत


काठमाडौं : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखला अन्तर्गत शुक्रवार भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि पारस खड्का २० र दिपेन्द्रसिंह ऐरी १५ रनमा नटआउट रहे । १२ बलको सामना गरेका पारस खड्काले १ छक्का र ३ चौका हाने । दिपेन्द्रले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शून्य रनमा पवेलियन फर्केका थिए ।

एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालले अमेरिकालाई कम स्कोरमा रोक्दै विश्व कीर्तिमान समेत बनाएको छ । नेपालले पहिलो खेलमा पनि अमेरिकालाई ३५ रनमा हराएको थियो । जीतसँगै घरेलु मैदानमा भएको ओमान सम्मिलित सिरिजमा नेपालले सुखद् अन्त्य गरेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने र सुसन भारीको घातक बलिङमा नेपालले ३६ रनको झिनो लक्ष्य पाएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भयो । ओडीआई श्रृंखलामा अमेरिकाले दिएको सबैभन्दा कमजोर लक्ष्य हो । यसअघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालका सन्दीप लामिछानेले ६ ओभरका १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपले १२औं ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारस खड्काबाट ४ रनमा क्याच गराउँदै आफ्नो ओडीआई करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे । सन्दीपको यो करिअरकै उच्च प्रदर्शन हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप नेपालबाट पहिलो खेलाडी बनेका छन् । एकै सिरिजमा ओडीआईमा नेपालबाट पाँच विकेट पूरा गर्ने सन्दीप दोस्रो खेलाडी हुन् । यसअघि युएईसँगको दोस्रो एक दिवसीय खेलमा सोमपाल कामीले ५ विकेट लिएका थिए ।

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शून्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिँदै शून्यमा पवेलियनको बाटो देखाएका थिए । सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे । सुशनले आफ्नो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए । सुशनले सातौं ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए । उनले तीन ओभरमा एक मेडन राख्दै चार विकेट लिए । ओपनिङ ब्याट्सम्यान जेभियर मार्सलले जोडेकने १६ रन नै अमेरिकाको लागि सर्वाधिक रह्यो । चार ब्याट्सम्यानले खाता खोल्न नसक्दा ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

प्रकाशित मितिः   १ फाल्गुन २०७६, बिहीबार ०९:१०