जनप्रतिनिधिको दायित्व

स्थानीय सरकारको नेतृत्वमा जनप्रतिनिधि छन् । जो प्रत्यक्ष रुपमा जनताबाट निर्वाचित प्रतिनिधि हुन् । उनीहरुको दायित्व भनेको जनअपेक्षा बमोजिम काम गर्नु हो । स्थानीय सरकार चलाउनु हो । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । तिनै अधिकार प्रयोग गर्दै जनताको आवश्यकता अनुसारको काम गर्नु र सेवा प्रदान गर्नु निर्वाचित पदाधिकारीको दायित्व हो । तर आफ्नो आधा कार्यकाल सकिँदासम्म कतिपय जनप्रतिनिधिहरुले अधिकारको दुरुपयोग गरेका छन् ।

कर्णाली प्रदेशमा स्थानीय तहका जनप्रतिनिधिहरु चोरीदेखि घुस लेनदेनका घटनामा संलग्न भएको पाइएका छन् । जस्तो कि माघ दोस्रो साता जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुस लिँदै गर्दा रंगेहात पक्राउ परे । सडक आयोजना निर्माणको बिल पास गरिदिने भन्दै उपभोक्ता समितिसँग घुस लिँदै गर्दा आठ लाख नगदसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुर्खेतबाट पक्राउ गरेको हो । यस्तै गत वर्ष डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडा अध्यक्ष कार्मा गुरुङ्ग मूर्ति चोरीको आरोपमा पक्राउ परे । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित गुम्बाको बुद्ध मूर्ति चोरी गरेको आरोपमा उनी पक्राउ परेका थिए । यसरी पदको दुरुपयोग, आचरण विपरितका क्रियाकलाप, आर्थिक लेनदेन लगायतका कार्यमा संलग्न भएकै कारण जनप्रतिनिधिहरु बदनाम भइरहेका छन् ।

जनताको सेवा गर्ने सपथसहित जिम्मेवारी लिएका प्रतिनिधिहरु नै जनताको सेवामा नभइ गलत कार्यमा संलग्न हुनु विडम्बना हो । एक वा दुई जना जनप्रतिनिधि मात्रै यस्ता गलत कार्यमा संलग्न भएका पनि होइनन् । कर्णालीमा पछिल्लो समय एकपछि अर्को गर्दै विभिन्न घटनामा उनीहरु मुछिँदै गएका छन् । सबैभन्दा बढी भ्रष्टाचारमा मुछिन थालेका छन् । जसले गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जनप्रतिनिधिहरुविरुद्ध उजुरी पर्ने क्रम पनि बढ्दो छ । जनप्रतिनिधिको नेतृत्वमा रहेका स्थानीय तहहरु नै बढी भ्रष्टाचारमा मुछिएका छन् । यसले संघीयता कार्यान्वयनसँगै बनेका स्थानीय सरकारलाई मात्रै होइन तिनको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुलाई पनि बदनाम गराएको छ ।

मुलुक लामो समय द्वन्द्वमा फस्यो । राज्यका स्थानीय संरचना जनप्रतिनिधिविहीन भए । विकास कार्य अलपत्र प¥यो । ढिलै भए पनि त्यसबाट मुक्त भएर मुलुक संघीय संरचनामा गएको छ । यसलाई सफल बनाउने प्रमुख दायित्व पनि जनप्रतिनिधिहरुकै हो । उनीहरुको भूमिका र जिम्मेवारीमा संघीयताको सफलता र असफलता जोडिएको छ । तर नेतृत्वमा हुनेहरु नै गलत बाटोमा हिँड्न थाल्ने हो भने संघीय व्यवस्था मात्र असफल हुँदैन मुलुक अझ पछाडि धकेलिन्छ । विकसित मुलुकको नागरिक बन्ने जनचाहनामाथि फेरि पनि तुषारापात हुन्छ । त्यसैले हरेक जनप्रतिनिधिले आफ्नो दायित्व बुझेर सोही अनुसार काम गर्न जरुरी छ ।

प्रकाशित मितिः   १ फाल्गुन २०७६, बिहीबार ०९:०८