अर्थमन्त्रीले घटाए बजेटको आकार

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएका छन् । बुधवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले बजेटको अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएर ९०.४ प्रतिशतमा झारेको बताएका छन् । गत १५ जेठमा मन्त्री खतिवडाले संसदमा चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रूपैयाँ विनियोजन गरेको बजेट वक्तव्य पेश गरेका थिए । अर्धवार्षिक समीक्षामार्फत उनले बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड रूपैयाँमा झारेको बताए ।

अर्थमन्त्री खतिवडाका अनुसार, यस वर्ष चालुतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत), पूँजीगततर्फ तीन खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) खर्च हुनेछ । त्यसैगरी, वित्तीय व्यवस्थातर्फ एक खर्ब ५४ अर्ब ६९ करोड एक लाख (विनियोजनको ९२.२ प्रतिशत) खर्च हुने अनुमान अर्थमन्त्रीको छ । बजेटको आकार मात्रै होइन, अर्थमन्त्री खतिवडाले राजश्व संकलनको लक्ष्य पनि घटाएर शुरूको अनुमानको ९५.६ प्रतिशतमा सीमित गरेका छन् । चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्व ३२ अर्ब ५० करोड, वैदेशिक अनुदानतर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋणतर्फ दुई खर्ब नौ अर्व ९० करोड ९० लाख परिचालन हुने संशोधित अनुमान रहेको छ ।

कर्मचारीको तलवमा वृद्धि गरिएको, रासायनिक मलको अनुदान थप भएको, समपूरक र विशेष अनुदानको रकम हस्तान्तरण भएको, सामाजिक सुरक्षा भत्तामा वृद्धी भएको तथा उखु किसानलाई थप अनुदान, पशुपन्छी विमा कार्यक्रम र एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक कार्यक्रममा थप खर्च हुने भएकोले चालु खर्च संशोधित अनुमान अनुसार हुने अर्थमन्त्रीको दावी छ । त्यसैगरी, ठूला पूर्वाधारका आयोजनाको भौतिक र वित्तीय प्रगति सुधार भएको हुँदा पूँजीगत खर्च संशोधित अनुमान अनुसार नै हुने अर्थमन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रूपैयाँ कायम भएको बताए । यो अवधिमा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भइ ५७ अर्ब २८ करोड रूपैयाँ पुगेको छ भने कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रूपैयाँ पुगेको छ । त्यस्तै, रेमिट्यान्स आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रूपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले बताए ।

प्रकाशित मितिः   १ फाल्गुन २०७६, बिहीबार ०९:०५