नेपाल र भट्टराईलाई मुद्दा चलाउन सर्वोच्चमा रिट

काठमाडौं : पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दाको अभियुक्त बनाउनुपर्ने मागदावी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारको ललिता निवासको जग्गालाई व्यक्तिका नाममा नामसारी गर्ने प्रकरणमा संलग्न भएकाले नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनुपर्ने रिट दायरकर्ताको माग छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा लगाउनका लागि आदेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री नै मुख्य जिम्मेवार हुने भएकाले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि अभियुक्त बनाइनुपर्ने न्यौपानेको माग छ ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत बुधवार एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले १ पूर्व उपप्रधानसहित ३ जना मन्त्रीलाई पनि उक्त प्रकरणमा प्रतिवादी बनाएको छ । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने निर्णय गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको अभियोगमा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

प्रकाशित मितिः   १ फाल्गुन २०७६, बिहीबार ०९:०३